पाँचखालको बौद्धिक अपाङ्ग पुनर्स्थापना केन्द्रलाई काभ्रे सेवा समाजको सहयोग

नौलो समाचार संवाददाता
२०७८ भाद्र १, मंगलबार मा प्रकाशित ८०७ पटक पढिएको
पाँचखालको बौद्धिक अपाङ्ग पुनर्स्थापना केन्द्रलाई काभ्रे सेवा समाजको सहयोग

भदौ १, काभ्रे। काभ्रे सेवा समाज(कासेस)ले पाँचखाल–११ खरेलथोकस्थित बौद्धिक अपाङ्ग पुनर्स्थापना केन्द्रलाई कोभिड-१९ सहयोगअन्तर्गत आर्थिक सहयोग गरेको छ। समाजलाई इन्भाष्ट ग्लोबल अष्ट्रेलियाबाट प्राप्त सहयोग रकमबाट केन्द्रलाई २ लाख ५० हजार रुपैंया सहयोग प्रदान गरिएको हो ।

केन्द्रको छात्रावास खरेलथोक, स्वाँरामा आयोजित कार्यक्रममा समाजका सल्लाहकार एवं पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेल र अध्यक्ष नारायणसिंह महतले संयुक्त रुपमा सो रकम केन्द्रका अध्यक्ष केवलप्रसाद सिग्देललाई हस्तान्तरण गर्नु भएको हो ।

सो अवसरमा समाजका सल्लाहकार अच्युतकृष्ण खरेलले मुलुकका विभिन्न जिल्लाबाट खरेलथोकको केन्द्रमा आवाशीय रुपमा रहेर भगवती माविबाट विशेष शिक्षा लिइरहेका बौद्धिक अपाङ्गहरुलाई सबैले सहयोग गर्न आवश्यक रहेको बताउनुभयो। हाल आश्रित बिद्यार्थी, शिक्षक र सुसारे गरी २६ जनालाई दैनिक खाना खुवाउनमात्र सकेमा पनि तीर्थव्रत गरेको बराबर हुने धारणा व्यक्त गर्नुभयो।

समाजका अध्यक्ष नारायणसिंह महतले विगतमा पनि कासेसले पलाञ्चोक क्षेत्रमा विनासकारी भुकम्पका बेलामा राहत एवं निजी घर पुनर्निर्माणमा सहयोग गरेको जानकारी दिनु भयो । उहाँले त्यतिखेर विभिन्न दाताहरुको सहयोगमा विपन्नहरुको घर बनाएको र कोभिड-१९ को लहर फैलिएलगत्तै विभिन्न दाताहरुको समन्वयमा काभ्रे जिल्लाका लागि राहत र सहयोगका लागि समन्वय गरिरहेको बताउनुभयो। यो कोभिड–१९ राहत सहयोग अन्तर्गत दोस्रो कार्यक्रम हो ।

सो केन्द्रका कोषाध्यक्ष रमेश खरेलले २०५८ सालमा भगवती माविमै विशेष कक्षाका रुपमा पुनस्र्थापना केन्द्र स्थापना भएकोमा तत्कालीन अवस्थामा आवाशीय सुविधा नहुँदा बालबालिका र अभिभावकहरु सबैले असुविधा व्यहोर्नु परेको स्मरण गर्नुभयो । उहाँले त्यतिखेर विहान ल्याउने र बेलुकी लैजानु पर्ने समस्याले गर्दा अभिभावकहरुले खरलेथोकमा डेरा लिएर ती बालबालिकाहरुलाई राख्नु पर्ने बाध्यता थियो । अहिले दाताहरुको सहयोगमा होस्टेल र कक्षा कोठाहरु बनेको छ । तर पनि शिक्षक र हेरालुहरुको तलब तथा विद्यार्थीहरुको खाना जुटाउनै धौधौ परेको बताउनुभयो ।

केन्द्रकी सचिव एवं शिक्षिका सुधा खरेलले बौद्धिक अपाङ्गता भए पनि केही काम गर्न सक्छन् कि भनेर पाँचखाल नगरपालिकाको सहयोगमा पोतेमाला बनाउन तालिम दिइएको र फुर्सदको समयमा आश्रित बालबालिकाहरुले पोते माला र अन्य चीजहरु बनाउन सक्ने भएको सुनाउनुभयो ।

सो अवसरमा काभ्रे सेवा समाजका अध्यक्ष नारायणसिंह महतले केन्द्रलाई तत्कालै सहयोग स्वरुप ५ हजार रुपैंया उपलब्ध गराउनु भयो । यसैगरी, पनौती–५, ढलमले निवासी जनस्वास्थ्यकर्मी रञ्जुसिंह थापाले ३ हजार रुपैंया उपलब्ध गराउनु भएको थियो ।

कार्यक्रममा पाँचखाल–११ का वडाध्यक्ष शिवशरण तामाङले अन्यखाले अपाङ्गता भन्दा वौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको पुनस्र्थापना जटील हुने आफुले महसुस गरेको बताउनु भयो । उहाँले तालिमका लागि नगरपालिकाबाट केन्द्रलाई सहयोग गरिएको र यसै वर्ष केन्द्रसम्म पुग्ने दुईमध्ये एउटा बाटो नगरपालिकाले मर्मतसुधार गर्ने वचन दिनु भयो । वडाध्यक्ष तामाङले नगरपालिकाबाट हुन सक्ने सहयोगका लागि आफ्नो निरन्तर प्रयास हुने बताउदै त्यसबाहेक आफ्नो जन्म दिनका अवसरमा आगामी पुष २५ गते केन्द्रलाई २५ हजार रुपैंया प्रदान गर्ने घोषणा गर्नु भयो ।

केन्द्रका अध्यक्ष केवलप्रसाद सिग्देलले बनेपा, नालादेखि खरलथोकको संस्थासँग जोडिनु परेको प्रसङ्गलाई अत्यन्तै पीडापूर्वक सुनाउनु भयो, ‘परिवारमा नातिनीको आगमनको खुशीयाली वर्ष दिन टिक्न पाएन । वर्षदिन पुगेपछि बल्ल थाहा पाइएको उनको बौद्धिक क्षमताले आज यहाँसम्म ल्याइपुर्‍यायो । यहाँ मेरी नातिनीजस्ता धेरैका सन्तानहरुलाई बौद्धिक सक्षमता बनाउनका लागि हामी सबै अभिभावकहरु जुटेका छौं । हालसम्म सबै मनकारीहरुले साथ र सहयोग दिँदै आउनु भएको छ । यसले हामीलाई अझ सक्रिय भएर काम गर्नका लागि हौसला मिलेको छ’, सिग्देलले थप्नु भयो ।

प्रतिक्रिया दिनुहोस