धुलिखेलको पतञ्जली आयुर्वेद कलेजले पढाइ रोकेपछि विद्यार्थी आन्दोलित

नौलो समाचार संवाददाता
२०७८ भाद्र ४, शुक्रबार मा प्रकाशित ६८० पटक पढिएको
धुलिखेलको पतञ्जली आयुर्वेद कलेजले पढाइ रोकेपछि विद्यार्थी आन्दोलित

भदौ ४, काभ्रे। काभ्रे धुलिखेलस्थित पतञ्जली आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टरले शुल्क नबुझाएको भन्दै पढाइ रोकेपछि विद्यार्थी आन्दोलित भएका छन्। ब्याचलर अफ आयुर्वेदिक मेडिसिन्स एण्ड सर्जरी अध्ययनरत पहिलो, तेस्रो र चौथो वर्षको भौतिक र भर्चुअल माध्यमबाट हुँदै आएको पढाइ गत साउन १० देखि रोकिएपछि आन्दोलित भएका हुन्।

कजेजमा चौथो वर्षमा अध्ययनरत रुपेश ठाकुरले अध्ययन–अध्यापन सञ्चालन गर्न माग गर्दै धुलिखेल नगरपालिका, जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षणसहित कलेजको केन्द्रीय कार्यालयमा धर्ना दिएको बताउनुभयो।

उहाँले कलेज सञ्चालक तथा पतञ्जली योगपीठ नेपालका संरक्षक शालिकराम सिंहले धर्नामा बसेका विद्यार्थीसँग भेट्नुको साटो प्रहरी लगाएर पक्राउ गरेको ठाकुरको भनाइ छ। उहाँले चिकित्सा शिक्षा आयोगले नयाँ भर्ना अनुमति नदिएपछि कलेजले विभिन्न वहानामा पढाइ रोकेको विद्यार्थीहरुको दाबी छ। कलेज र चिकित्सा शिक्षा आयोगबीच कुरा नमिल्दा त्यसको मार आफु विद्यार्थीले खेप्नु परेको बताउदै उहाँले त्यसपछि कलेजले शुल्क नतिरेको बहाना गरेर पढाइ नै रोकिदिएको बताउनुभयो ।

अर्का विद्यार्थी भुवन पराजुलीले विभिन्न वहानामा कलेजले पढाइ नै बन्द गरेर विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको र विद्यार्थीलाई मानसिक यातना दिने काम गरेको आरोप लगाउनुभयो। उहाँले चिकित्सा शिक्षा जस्तो संवेदनशील क्षेत्रमा कलेजको गैरजिम्मेवारीपूर्ण हर्कतले गर्दा करिब १०० विद्यार्थीको भविष्य नै अन्योलामा परेको उल्लेख गर्नुभयो।

यता कलेजले भने कोर्स सकिँदासम्म चार किस्तामा तिर्नु पर्ने प्रतिविद्यार्थी १५ लाख रुपैयाँ विद्यार्थीले ७–८ महिनादेखि नबुझाएको बताउँदै आएको छ। कलेजका प्रधानाध्यापक डा. चन्द्रकिशोर यादवले कलेजका सञ्चालक तथा संरक्षक शालिकराम सिंहले शुल्क बुझाउन पटकपटक सूचना जारी गर्दा पनि विद्यार्थीले अटेर गरेकाले बाध्य भएर पढाइ रोक्नु परेको बताउनुभयो। विद्यार्थीले शुल्क नबुझउदा २९ जना शिक्षक र कर्मचारी गरी ५० जनाको साउन महिनाको तलब रोकिएको उहाँको भनाइ छ।

उहाँका अनुसार विद्यार्थीबाट तीन करोड ५० लाख रुपैयाँभन्दा बढी शुल्क उठ्न बाँकी छ। परीक्षा फराम भर्ने बेला मात्रै रकम दिँदा कलेज मर्कामा पर्ने भएकाले बाध्य भई पढाइ रोकेको उहाँले प्रष्टीकरण दिनुभयो।

कलेज प्रशासनले पढाइ सुरु नगरेपछि ३३औं दिनमा पतञ्जली योगपीठ नेपालको प्रमुख कार्यालय, मण्डीखटारमा प्लेकार्ड बोकेर शान्तिपूर्ण प्रदर्शन गर्न पुगेका विद्यार्थीलाई प्रहरीले धरपकडसँगै केहीलाई पक्राउ गरी प्रहरी कायालय, महाराजगंजको हिरासतमा समेत राखेको उनीहरुले बताएका छन्।

विद्यार्थीले विज्ञप्ति जारी गर्दै कलेज प्रशासनले शुल्क बुझाउनेबारे कुनै जानकारी तथा ताकेता नगरी एक्कासी पढाइ रोक्ने र आफ्नो अकर्मण्यता लुकाउन विद्यार्थीलाई गलत देखाएकोप्रति खेद प्रकट गरेको छ।

भौतिक पूर्वाधार लगायतका मापदण्ड पूरा नभएको भन्दै चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७८/७९ मा पतञ्जली आयुर्वेद मेडिकल कलेजलाई नयाँ विद्यार्थी भर्ना अनुमति दिएको छैन।

 

प्रतिक्रिया दिनुहोस