पनौतीको चुनावी घोषणपत्रमा उल्लेख भएका ९० प्रतिशत काम गर्यौ : प्रमुख न्यौपाने (भिडियो अन्तर्वार्ता)

नौलो समाचार संवाददाता
२०७८ भाद्र ६, आईतबार मा प्रकाशित ११६६ पटक पढिएको

ऐतिहासिक एवं पुरातात्विक महत्त्व बोकेको काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका पुरातात्विक सम्पदा, मठ मन्दिरले भरिएको नगर हो। विश्व सम्पदा सूचीमा सूचीकृत हुदै गरेको पर्यटकीय नगरी पर्यटकको आकर्षणको केन्द्र हो। कृषिमा आफुलाई अब्बल साबित गर्न सफल पनौती कृषि पर्यटनको पनि प्रचुर सम्भावित क्षेत्र हो। यसै नगरीमा यहि वर्ष प्रसिद्ध १२ वर्षे मकर मेला हुँदै छ। स्थानीय तहको निर्वाचनपछि पनौती क्षेत्रको विकास निर्माण, कृषि, पर्यटन, रोजगार, जनगुनासा, पुरातात्विक धरोहरको संरक्षण र मकर मेलाको तयारी लगायतका विषयमा नेकपा (एमाले)का तर्फबाट निर्वाचित पनौती नगपालिकाका प्रमुख भीम न्यौपानेसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ:-

चुनावमा गरेका प्रतिबद्धता कति पुरा भए ?

चुनावी घोषणपत्रमा उल्लेख भएका ९० प्रतिशत कामहरु पुरा भएका छन्। हाम्रा घोषणापत्रमा मुख्य पाँच विषय थिए। पनौती रंगशाला, काभ्रे एकीकृत उपत्यका खानेपानी, पनौती–बनेपा वैकल्पिक सडक निर्माण, लामो समयसम्म खाली रहेर जनताको काम जनप्रतिनिधि मार्फत छिटो छरितो रूपमा गर्न वडा कार्यालयहरू व्यवस्थित गर्ने रहेको थियो। विगतका योजनाहरू स्तरोन्नति गर्ने, ग्वार्को–लाकुरी भञ्ज्याङ नमोबुद्ध साथै दाहालटार-रोशी सडक राष्ट्रिय बाटोमा पर्नुपर्छ भनि हामीले प्रस्ताब गरेका थियौ र त्यो सरकारबाट कार्यन्वयनमा गएको छ र ती कार्य पूरा  गरेका छौँ। बनेपा–पनौती सडक अरनिको राजमार्गको २९ नं. फिडर रोडलाई हाम्रो पहलमा बनेपा–पनौती–खोपासी–कामीडाँडा-तालढुङगा-फापर बारी-हेटौँडा सडकका रूपमा विकास गर्न राष्ट्रिय योजनामा परेको र अहिले काम भैरहेको छ। यी हाम्रा ठूला योजना हुन्। शतप्रतिशत नागरिकलाई सन्तुष्ट बनाउने प्रयास गरीएको छ। अधिकतम जनताका सरोकारका बिषयलाई नगरपालिकाले सम्बोधन गरेको छ।

पौराणिक र पुरातात्विक महत्त्वको पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने काम कहाँ पुग्यो ?

पौराणिक र पुरातात्विक महत्त्व बोकेको बास्तबिक नगर पनौतीको वडा नम्बर ७ मा पर्छ। यस नगरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि २४ वर्षअघि नै प्रस्तावित  थियो। मन्त्रिपरिषद्ले निर्णय गरेर पठाए पनि प्रक्रिया अगाडि बढ्न सकेन। हामी निर्वाचित भएपछि कागजात खोजेर फेरी प्रक्रिया अगाडि बढायौँ। हामीले यहाँबाट पर्यटन तथा सस्कृति मन्त्रालय र पुरातत्वमा लग्यौँ। पर्यटनमार्फत पुरातत्वमा पुग्यो र अहिले मुख्य सचिवको कार्यालयमा पुगेको छ। प्रस्तावित सूचीमा त्यो बसेको छ। मन्त्रिपरिषद्बबाट निर्णय भएपछि मात्र युनेस्कोको उपस्थिति रहने हुदा नेपाल सरकारलाई छिट्टै उक्त निर्णयगरिदिन अनुरोध गर्दछु। आईटी कपि हामीले युनेस्कोमा पठाएका छौ उसले त्यो छानबिन गरिरहेको छ।

मकर मेलाको तयारी कस्तो छ ?

आगामी माघ १ गतेबाट पनौतीमा १२ वर्षे मकर मेला सुरु हुदै छ।  एक महिनासम्म चल्ने यो मेला हाम्रो प्रतिष्ठाको विषय हो। मेला अनुशासित ढंगले सम्पन्न गराउनु नगरपालिकाको प्राथमिकतामा पर्छ। यसका लागि गत वर्षको बाढीले बगाएको तीनवटा पुल पुनर्निर्माण भएको छ। वैकल्पिक बाटो निर्माण भैरहेको छ। ग्वार्को सडक पनि लगभग सम्पन्न हुनेछ। खोपासी-पनौती-बनेपा सडक पनि निर्माण सम्पन्न हुन्छ। बजारमा गाडीको भीड नगरी व्यवस्थापन गर्न सकियोस् भन्ने उद्देश्यले पनौती बजार क्षेत्रलाई घेराबन्दी गरेर वैकल्पिक बाटोहरु निर्माण गरेका छौँ। मन्दिरहरूको मर्मतसम्भार तथा सरसफाइको सुरु गरेका छौं। मकर मेला लाग्ने मन्दिर परिसर र पुण्यमाता खोला गहिरो स्थानमा भएका कारण फोहर छ। हामी विहावर खोलालाई सिँचाइ कुलोमार्फत बाँसडोल खोलामा मिसाएर खोला सफा गर्छौं र फोहर पानी ढल बनाएर कटाउँछौँ। सिँढी निर्माण गरिरहेका छौँ। सीसीक्यामरा जडान सकिएको छ। सोलार बत्तीको छिट्टै व्यवस्थापन हुन्छ। नेपाल सरकारको सहरी विकास आयोजनाले पनौती-बनेपा-धुलिखेल समेटेर स्मार्ट सिटीको विकासमा पनि काम सुरु गरेको छ। पुरातात्विक महत्त्व बोकेका सम्पदाको संरक्षणमा हामी लाग्छौँ । बजार क्षेत्रका ११ घर परम्परागत शैलीमा ढाल्ने काम भएको छ।

कोभिड-१९ को रोकथाम र नियन्त्रणमा नगरले के के गरेको छ ?

हामीले वैदेशिक रोजगारीबाट आएकाहरूलाई क्वारेन्टाइनको व्यवस्था गरेका छौ। पनौती–४ मा आइसोलेसन तयार गरेका छौँ। नगरमा धेरैलाई कोरोना भाइरस संक्रमण भयो। अहिले पनि दुई सयभन्दा बढी कोरोना संक्रमित हुनुहुन्छ। २० जनाको मृत्यु भयो। नगरले महामारी रोकथाम, नियन्त्रण, परिक्षण तथा व्यवस्थापनमा सक्दो प्रयास गरेको छ। कोरोना रोकथामको लागी हामी सचेत छौ, हाम्रो साखा सचेत छ। खर्च व्यवस्थापनको लागी यो वर्ष पनि १ करोड रकम राखेका राकेका छौ।

नगर  क्षेत्रभित्र ढुंगाखानी र क्रसरको व्यवस्थापन कसरी गर्नुहुन्छ ?

पनौती नगर पालिकामा १२ वटा ढुंगाखानी थिए । त्यसमध्ये एउटा खानीलाई कारबाही गरी बन्द गर्र्यौ। व्यवसायी अदालत गएर मुद्दा जित्नुभयो । खानी पनि बस्तीको बीचमा छ। गर्नुपर्ने निर्णय र काम त गर्र्यौ तर अदालतले उहाँलाई जिताइदियो ११ वटा खानी सञ्चालनमा छन् । खानीहरूले अझै विधि मिचेका छन् । नगरले खानीको अनुगमनका लागि समिति बनाएको छ। वर्षापछि त्यसको अनुगमन हुन्छ। विधि मिच्ने खानीलाई कडाइ गरिन्छ। खानीको जग्गा छुट्ट्याएर घेराबार लगाउनेसम्मको काम गराईन्छ। टिपराको लागि रोसीदेखि ढलमलेसम्म वैकल्पिक सडकको व्यवस्थापन हुदै छ। मकर मेला अगाडि उक्त सडक सञ्चालनमा आउँछ।

पर्यटन विकासमा के-कस्ता काम भैरहेका छन् ?

पनौती धार्मिक र प्राकृतिक पर्यटनका लागि उत्कृष्ट क्षेत्र हो । नगरपालिकामा ठूला पाँचवटा होटल छन् । केही वडामा होमस्टेको  व्यवस्था  गरेका छौँ। बाटो व्यवस्थित बनाउने कामको जिम्मेवारी नगरले लिएको छ। पद यात्राका लागि गोरेटो बाटो निर्माण भएको छ। पनौतीको ऐतिहासिकता समेटेर चिनारी पुस्तक प्रकाशन गर्दै छौँ। परिचय पुस्तिका प्रकाशित छ। पनौतीबाट एक सय भन्दा बढी भाडाका सवारी साधनहरु दैनिक काठमाडौं ओहोरदोहोर गर्छन तिनीहरुमा ब्यानर पम्प्लेट टास्नको लागी व्यवशायी संग समन्वय भैरहेको छ। यसबाट मकर  मेला र पनौतीको पर्यटनमा टेवा पुग्छ। मकर मेलाको सवालमा अहिले हामि पूर्वाधार विकासमा अहिले लागिरहेका छौ र दशैँपछी पूर्ण रुपमा  वाह्य तयारी संरचनामा लाग्छौ।

कृषि र पशुपालनको राम्रो सम्भावना भएको यहाँ कस्ता योजना बनेका छन् ?

भैँसी सुत्केरी भत्ता हामीले सुरु गर्यौ। पहिलो बेतमा भैँसीलाई पाँच हजार र दोस्रो बेतबाट दुई हजार रुपियाँ दिन्छौँ। नगरपालिकाका १२ वटै वडामा पशु प्राविधिक राखेका छौँ। उक्त सुविधा लिन भैँसी बीमा गरेको हुनुपर्छ। पशु बीमा अनिवार्य गर्नुपर्छ। किसानलाई ५० प्रतिशत प्रिमियम रकम नगरपालिकाले उपलब्ध गराउँछ। अहिले भैँसीको संख्या आठ हजारभन्दा बढी छ। कृषकको पहिचान गरी ८०६ वटा पाडी नगरबाट वितरण गर्यौ। केही पाडी ब्याएका छन् र केही ब्याउने क्रममा छन्। जनतासँग थोरै पैसा लिएका छौँ । नगरपालिकाले पाडी र पाडी पाल्ने किसानको समेत दुई लाखको बीमा गरिदिन्छ । पनौतीमा घाँस कम भएकाले घाँसको बीउलाई पनि प्राथमिकतामा राखेका छौँ । सामूहिक पशुपालन गर्ने किसानलाई सुविधा दिनका लागि कोसिस गरिरहेका छौँ। वैदेशिक रोजगारीबाट फर्किएर आएका युवाले सामूहिक कृषि पशुपालन, साना उद्योग सञ्चालन गरेकामा नगरले अनुदानको व्यवस्था गरेको छ। प्रदेश संघिय सरकारले यो कार्यक्रममा रकम दिएको छ। हामीले गरेको यो कार्यक्रमलाई देशभरका १६९ पालिकाहरुले अबलम्बन गरिरहेका छन् । यसले हामीले गरेको काम ठिक छ भन्ने पुष्टि हुन्छ।

भैसी, गाई तथा बोका पनि वितरण गरिरहनुभएको छ प्रतिफल कस्तो पाउनुभएको छ ?

पनौती नगरपालिकाको १२ वटा वडालाई ४ ओटा ब्लकमा बिभाजन गरेर तथ्यांकको आधारमा ३ ओटा वडालाई भैंसी पालन क्षेत्र, ३ ओटा वडालाई गाई पालन, ३ ओटा वडालाई बाख्रा पालन, अर्को ३ ओटा वडालाई तरकारी खेति क्षेत्रको रुपमा छुट्याइएको छ। ती क्षेत्रमा नेपाल सरकार र नगरपालिकाको अनुदानमा बोका, भैसी, गाई र तरकारीका बिउ बिजन र कृषि उपकरण वितरण गरिरहेका छौ।

बैदेशिक रोजगारबाट फर्केका युवाहरुका लागि नगरपालिकाले आर्थिकोपार्जनमा कस्तो सहयोग गर्न सक्छ?

बैदेशिक रोजगारबाट फर्केका युवाहरुका लागि रिटर्ने नेपालको सहयोगमा नगरपालिकाको रोजगारमुलक काममा लगाईरहेका छौ। प्रधानमन्त्री रोजगार कार्यक्रमा सुचिकृत हुनेहरुलाई पनि सय दिनको काम मार्फत काम दिईरहेका छौ। नेपाल फर्केर हातमा सिप भएका तर पूजीको अभाव भएका युवाहरुलाई सहुलियत ऋणको लागि बैंक संग सहजीकरण गरिदिएका छौ। पनौती क्षेत्रमा कल कारखाना ज्यादै न्युन रहेकाले रोजगारमा लाग्ने सवालमा पनौती कम्जोर छ । तर कृषि, पशुपालन तथा  पर्यटनमा इमान्दारिताका साथ जति पनि युवाहरु लाग्नुहुन्छ त्यति नै उहाहरुको प्रगती हुन्छ र पनौती नगरपालिका सधै उहाँहरुको साथमा छ।

खाद्यान्न उत्पादन हुने विशाल फाँट बस्तिमा परिणत हुँदै छ, यसलाई कसरी लिनुहुन्छ ?

यो राम्रो विषय होइन तर मानिसको रोजाइ फाँटमै छ। बसाइँसराइ गरेर आएकाको रोजाइ फाँट बन्ने गरेको छ। बाटो किनारामा घडेरी बिक्री भएको देखिन्छ। फाँट जोगाउन सकिएन भने पनौतीलाई घाटा हुन्छ। त्यसका लागि हामीले भूउपयोग योजना बनाउनुपर्छ। त्यो हाम्रो छलफलको चरणमा छ।

पनौती नगपालिकाका  प्रमुख भीम न्यौपानेसँग गरिएको कुराकानी (भिडियो)

 

प्रतिक्रिया दिनुहोस