काभ्रेका महाभारत र पाँचखालमा सबैभन्दा कम बेरुजु, मण्डनदेउपुर र तेमालले निकाले सबैभन्दा बढी 

नौलो समाचार संवाददाता
२०७८ भाद्र ६, आईतबार मा प्रकाशित १३०१ पटक पढिएको
काभ्रेका महाभारत र पाँचखालमा सबैभन्दा कम बेरुजु, मण्डनदेउपुर र तेमालले निकाले सबैभन्दा बढी 

भदौ ६, काभ्रे। काभ्रे महाभारत गाउँपालिकामा जिल्लाकै सबैभन्दा कम बेरुजु देखिएको छ। यस्तै जिल्लाकै पाँचखाल नगरपालिका कम बेरुजु देखिनेमा दोश्रो नम्बरमा परेको छ। महालेखा परीक्षकको कार्यालयले शनिबार जारी गरेको बित्तीय प्रतिबेदन सुचक अनुसार काभ्रेका स्थानीय तह मध्ये महाभारत गाउँपालिका र पाँचखाल नगरपालिकामा सबैभन्दा कम बेरुजु भएको रिपोर्ट प्रस्तुत गरेको हो।

महालेखा परीक्षकको अन्ठाउन्नौं वार्षिक प्रतिवेदन, २०७८ मा काभ्रे जिल्लाको तेह्र स्थानिय तहहरुको बेरुजु ५७ करोड देखिएको छ ।

महाभारत गाउँपालिकामा वागमती प्रदेशमा रहेका ७४ वटा गाउँपालिका मध्येमा सबैभन्दा कम बेरुजु देखिएको छ भने प्रदेशको ११९ स्थानीय तहहरुमध्य पनि दोस्रो स्थानमा रहेको छ।

महालेखापरीक्षकको अन्ठान्नौं वार्षिक प्रतिवेदन, २०७८ अनुसार महाभारत गाउँपालिकाको बजेटको ० दशमलब ४३ प्रतिशत र पाँचखाल नगरपालिकाको बजेटको ० दशमलब ८६ प्रतिशत बेरुजु देखिएको छ।

प्रतिवेदनका अनुसार महाभारत गाउँपालिकामा ६७ करोड ७९ लाख १२ हजारको लेखा परिक्षण गर्दा २९ लाख ४० हजार अर्थात ०.४३ प्रतिशत बेरुजु देखिएको छ । यस्तै, पाँचखालमा १ अर्ब ३८ करोड २८ लाख ७२ हजारको लेखा परिक्षण गर्दा १ करोड १९ लाख ३५ हजार अर्थात ०.८६ प्रतिशत बेरुजु देखिएको हो।

प्रतिवेदनका अनुसार काभ्रेमा नगरपालिकाहरुमा सबैभन्दा बढि बेरुजु मण्डनदेउपुर नगरपालिका र गाउँपालिकाहरुमा सबैभन्दा बढि तेमाल गाउँपालिकामा भएको छ । मण्डनदेउपुर नगरपालिकामा १ अर्ब ४६ करोड, ६८ लाख ३ हजारको लेखा परिक्षण हुँदा ८ करोड ७७ हजार अर्थात ५.४६ प्रतिशत रकम बेरुजु भएको छ। यस्तै, तेमाल गाउँपालिकामा ९५ करोड २७ लाख २७ हजारको लेखा परिक्षण गर्दा ९ करोड २४ लाख ४ हजार अर्थात ९.७० प्रतिशत बेरुजु देखिएको छ।

त्यस्तै धुलिखेल नगरपालिकामा ० दशमलब ९९ प्रतिशत, बनेपा नगरपालिकामा २ दशमलब २८ प्रतिशत, नमोबुद्ध नगरपालिकामा २ दशमलब ८३ प्रतिशत तथा पनौती नगरपालिकामा ३ दशमलब ६२ प्रतिशत बेरुजु देखिएको छ ।

गाउँपालिकाहरुमा रोशी गाउँपालिकामा १ दशमलब ८८ प्रतिशत, खानीखोला गाउँपालिकामा ३ दशमलब ३१ प्रतिशत, चौरी देउराली गाउँपालिकामा ५ दशमलब २४ प्रतिशत, भुम्लु गाउँपालिकामा ६ दशमलब १२, बेथानचोक गाउँपालिकामा ७ दशमलब ९७ प्रतिशत बेरुजु देखिएको छ ।

प्रतिक्रिया दिनुहोस