अन्तत: मोडल तथा कलाकार निशा घिमिरेको निधन

नौलो समाचार संवाददाता
२०७८ भाद्र १६, बुधबार मा प्रकाशित ५८४ पटक पढिएको

अन्तत: मोडल तथा कलाकार निशा घिमिरेको निधन

भदौ १६, काठमाडौं। मोडल तथा कलाकार निशा घिमिरेको निधन भएको छ। नर्भिक अस्पतालमा उपचाररत घिमिरेको आज बुधबार साँझ ६ः५१ बजे मृत्यु भएको अस्पतालले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

‘अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन भएको अस्पताल प्रशासनले जानकारी दिएको छ।

दुर्घटनामा घाइते भएकी निशालाई गम्भीर अवस्थामा घरमै रहेका बेला नर्भिक अस्पतालले २०७८ जेठ २७ गते उद्धार गरेको थियो। उद्धार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो।

लगातारको उपचारपछि पनि उहाँको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन । उहाँलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो।

खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने उहाँका शरीरमा रहेका घाउहरु समेत लामो समयसम्म पुरिन सकेका थिएनन् ।

गम्भीर अवस्थामै रहनुभएकी घिमिरेको मुटु र मृगौलाले काम गर्न छाडेपछि आज बिहानदेखि अवस्था गम्भीर बन्न पुगेको थियो ।


प्रतिक्रिया दिनुहोस