करिव ३० करोडको लागतमा नमोबुद्धमा वृहत खानेपानी आयोजना सञ्चालन हुने

नौलो समाचार संवाददाता
२०७८ भाद्र १७, बिहिबार मा प्रकाशित ७०३ पटक पढिएको
करिव ३० करोडको लागतमा नमोबुद्धमा वृहत खानेपानी आयोजना सञ्चालन हुने

भदौ १७, काभ्रे। नमोबुद्ध नगरपालिकामा करिव ३० करोड रुपैयाँको लागतमा वृहत खानेपानी आयोजना सञ्चालन हुने भएको छ।
नमोबुद्ध नगरपालिकाको पहलमा खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनामार्फत नगरपालिकाको वडा नं. ६, ७, ८ सहित भकुण्डे उपत्यकामा सहजरुपमा खानेपानीको सुविधा पु¥याउनका लागि भकुण्डेबेशी, खनालथोक, खाक्सी, दाप्चाक्षेत्र वृहत खानेपानी आयोजना सञ्चालनको प्रक्रिया अघि बढेको हो।

नगरपालिकाको वडा नं. ६ स्थित रोशी खोलाबाट लिफ्ट गरी १६ सय भन्दा बढी घरधुरीका लागि खानेपानीको व्यवस्थापन गर्न लागिएको हो। आयोजना सम्पन्न गर्नका लागी संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले २९ करोड ७८ लाख २० हजार ३ सय ६८ रुपैयाँ बराबरको लागत अनुमान गरेको छ।

नमोबुद्धका नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले नगरको गौरबको आयोजना भएको र यसले एक घर एक धाराको अभियानलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। तिमल्सिनाले आयोजना सञ्चालनका लागि मुलको व्यवस्थापन भइसकेको र उपभोक्ता समिति पनि गठन भइसकेको सन्दर्भमा अब आयोजनाको काम तीब्ररुपमा अघि बढ्ने बताउनुभयो।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष मोहनकुमार श्रेष्ठले यो आयोजना सम्पन्न भएपछि दीर्घकालिनरुपमा खानेपानी समस्या समाधान हुने बताउनुभयो। आज बिहीबार आयोजना सञ्चालन बारे नगरपालिका र उपभोक्ता समितिबीच छलफल भएको थियो। छलफलले आयोजना कार्यान्वयनको प्रक्रियालाई तत्कालै अघि बढाउने निर्णय गरेको छ। आयोजनाको निर्माण कार्य सुरु भएको तीन बर्षभित्र सम्पन्न हुने लक्ष्य राखिएको छ।

नमोबुद्ध नगरपालिकाले जनप्रतिनिधि निर्वाचित भएदेखि नै चुनावी प्रतिवद्धताअनुसार एक घर एक धाराको अभियान सुरु गरेको थियो । अभियानलाई सफल बनाउन नगरभित्र साना ठूला खानेपानी आयोजनाहरु सञ्चालन भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस