जलवायु परिवर्तन र विपद व्यवस्थापनको कार्ययोजना बनाउँदै नमोबुद्ध

नौलो समाचार संवाददाता
२०७८ भाद्र २३, बुधबार मा प्रकाशित ५४४ पटक पढिएको
जलवायु परिवर्तन र विपद व्यवस्थापनको कार्ययोजना बनाउँदै नमोबुद्ध

भदौ २३, काभ्रे। नमोबुद्ध नगरपालिकाले जलवायु परिवर्तन अनुकुलन र विपद व्यवस्थापनबारे कार्ययोजना निर्माणको काम सुरु गरेको छ ।
जलवायु परिवर्तनका कारण स्थानीयस्तरमा आइपर्ने विपदको कसरी व्यवस्थापन गर्न सकिन्छ र जलवायु परिवर्तनबाट आइपर्ने समस्यासँग कसरी जुध्न सकिन्छ भन्नेबारे कार्ययोजना निर्माणको काम सुरु भएको हो ।

सोही क्रममा जलवायु परिवर्तन अनुकुलन तथा विपद व्यवस्थापन कार्ययोजना तयारीसम्वन्धी कार्यशाला गोष्ठी आज बुधबार सम्पन्न भएको छ। नगर प्रमुख टिपी शर्मा तिमल्सिनाको अध्यक्षता एवं वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. राधा वाग्लेको प्रमुख आतिथ्यतामा गोष्ठी सम्पन्न भएको थियो ।

गोष्ठीमा वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. राधा वाग्लेले विकसित मुलुकले गरेको विकासको असर विकासोन्मुख मुलुकहरुमा पनि परेको बताउनुभयो। पछिल्लो समय त्यसैको प्रभावका कारण तापक्रम वृद्धि हुने क्रम तीब्र भइरहेको भन्दै उहाँले ग्रामीण क्षेत्र पनि जलवायु परिवर्तनको असरबाट निकै प्रभावित भएको बताउनुभयो। ग्रामीण क्षेत्रलाई लक्षित गर्दै कार्ययोजना बनाउने क्रममा नमोबुद्ध नगरपालिकासँगको सहकार्यमा स्थानीयस्तरको आफ्नै कार्ययोजना निर्माण गर्न लागेको उहाँको भनाई थियो । वाग्लेका अनुसार अहिले नमुनाको रुपमा नमोबुद्धसहित मुलुकका चारवटा स्थानीय तहमा जलवायु परिवर्तन अनुकुलन कार्यक्रम सञ्चालन भइरहेको छ । पालिका तहमै कार्ययोजना बनाएर कार्यान्वयन गर्दा प्रभावकारी हुने भन्दै वाग्लेले प्रदेश र संघीयस्तरमा पनि कार्ययोजना बनाइएको जानकारी दिनुभयो।

कार्यक्रममा नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले जलवायु परिवर्तनका असरलाई न्यूपनकरणको प्रयास थालिएको वताउँदै वन तथा वातावरण मन्त्रालयको सहकार्यमा अघिल्लो बर्षबाटै जलवायु परिवर्तन अनुकुलन कार्यक्रम थालिएको बताउनुभयो। दीगो विकासलाई लक्षित गर्दै जलवायु परिवर्तन अनुकुलन र विपद व्यवस्थापनबारे कार्ययोजना बनाइने तिमल्सिनाले बताउनुभयो।

कार्यक्रममा नगरपालिा उपप्रमुख रामदेवी तामाङले नगरमा बाढी पहिरोको जोखिम बढ्दै गएको बताउँदै त्यसलाई ध्यानमा राखेर कार्ययोजना बनाउनुपर्ने बताउनुभयो। विपद व्यवस्थापनका लागि पर्याप्त मात्रामा बजेट परिचालन गर्न सके राम्रो हुने उहाँको भनाई थियो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले औधोगिकीकरण बढेसँगै पृथ्वीको तापक्रम बढ्दै गएको र यो गरिब मुलुकका लागि अभिषाप बनेको बताउनुभयो। जलवायु परिवर्तनका कारण प्राकृतिक विपदका घटनासमेत बढ्दै गएको भन्दै उहाँले स्थानीयस्तरमा अनुकुलन कार्यक्रम बनाउन थालिएको बताउनुभयो। नगरका वडा र टोलटोलसम्म पुगेर कार्ययोजना निर्माण गर्ने र त्यसलाई कार्यान्वयनमा लैजाने उहँले बताउनुभयो।

कार्यक्रममा इकार्डस् नेपालका नवराज दाहाल र प्रशान्त पौडेलले जलवायु परिवर्तनबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन नमोबुद्ध नगरपालिकाका वातावरण अधिकृत सन्तोष पौडेलले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस