संखुवासभामा ६ जना हत्याका आरोपी सार्वजनिक, दाउराको चिर्पटले हानेर मारेको स्वीकारोक्ति

नौलो समाचार संवाददाता
२०७८ भाद्र २७, आईतबार मा प्रकाशित ५१९ पटक पढिएको
संखुवासभामा ६ जना हत्याका आरोपी सार्वजनिक, दाउराको चिर्पटले हानेर मारेको स्वीकारोक्ति

भदौ २७, सङ्खुवासभा। संखुवासभा सामूहिक हत्याकाण्डका आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ। २६ वर्षीय कार्कीलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको थियो। सङ्खुवासभाको मादी नगरपालिका वडा नम्बर १ मा भएको सामूहिक हत्या पारिवारिक कुण्ठाका कारण भएको पाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार लोकबहादुरले हत्या गरेको स्वीकार गरेका छन् । उनले चिर्पटले हानेर ६ जनाकै हत्या गरेको स्वीकार गरेका हुन्।

हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका २६ वर्षीय लोकबहादुर कार्कीलाई सार्वजनिक गर्दै प्रदेश १ प्रहरी कार्यालयका डीआईजी अरुण बिसीले पारिवारिक कुण्ठाका कारण हत्या भएको पाइएको बताउनुभएको हो।

विदेश गएर बिरामी परि फर्किएका लोकबहादुरलाई काका नाताका मृतक तेजबहादुर कार्कीले सम्झाइबुझाइ गर्ने गरेका र त्यसलाई लोकबहादुरले आफ्ना छोरा विदेश गएर कमाए भनी काकाले आफूलाई हेपेको रूपमा बुझेका कारण हत्यासम्मको अवस्था आएको पाइएको डीआईजी बिसीले बताउनुभयो।

लोकबहादुरले एउटै चिर्पटले ६ जनाको हत्या गरेको खुलेको छ । बिहानै आफूलाई खेताला बोलाउन घरमा आएका काकालाई पछ्याउँदै गएर बाटोमा चिर्पटले हानेको र काका ढलेको देखेर आएका काकी, भाउजु र दुई नाबालाक भतिजो/भतिजीलाई पनि त्यही चिर्पटले हानेर हत्या गरेको लोकबहादुरले बयान दिएका छन् । हजुरआमा अर्थात् तेजबहादुरकी आमालाई भने घरमै गएर हत्या गरी चिर्पट आगोमा हालेर फर्किएको लोकबहादुरले बयान दिएका छन्।

लोकबहादुरका हजुरबुबा र मृतक तेजबहादुरका बुबा बौद्धमान दाजु–भाइ हुन्। उनीहरूको घर नजिकै रहेको छ।

आरोपी लोकबहादुरले दिएको बयानमा तेजबहादुरले आफूलाई अल्छी, जाँगर नभएको लगायत शब्द प्रयोग गर्ने, गाली गर्ने जस्ता कार्य गरेकोले हत्या गरेको बयान दिएका छन्।

प्रतिक्रिया दिनुहोस