काभ्रेको धुलिखेलमा प्रदेशस्तरीय आपतकालीन गोदाम घर निर्माण

नौलो समाचार संवाददाता
२०७८ भाद्र २८, सोमबार मा प्रकाशित ६३० पटक पढिएको

काभ्रेको धुलिखेलमा प्रदेशस्तरीय आपतकालीन गोदाम घर निर्माण

भदौ २८, काभ्रे। विपतका घटनामा छिटोभन्दा छिटो खोज तथा उद्धार कार्य गर्ने उद्देश्यले धुलिखेल नगरपालिका-३ मा प्रदेशस्तरीय गोदाम घर (वेयर हाउस) निर्माण भएको छ।

बागमती प्रदेशका विभिन्न जिल्लामा विपतका समयमा आवश्यक पर्ने उद्धार सामग्रीको भण्डारणका लागि हालै उक्त घर निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ।

प्रदेश सरकारको ३१ लाख ४२ हजारको लागतमा निर्माण भएको घरमा मोटरबोट, रुख काट्ने मेसिनलगायतका उद्धारका समाग्री राखिने काभ्रेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भुपेन्द्रबहादुर खत्रीले जानकारी दिनुभयो।

नगरपालिकाले उपलब्ध गराएको जग्गामा उक्त घर निर्माण गरिएको हो। प्रहरी उपरीक्षक खत्रीका अनुसार प्रदेशस्थित आसपासका जिल्ला सिन्धुपाल्चोक, रामेछाप, दोलखा, सिन्धुली जिल्लामा हुने सम्भावित घटनामा छिटोभन्दा छिटो खोज तथा उद्धार गर्न सकिनेछ । यसका लागि प्रहरी नायब निरीक्षकको कमाण्डमा खोज तथा उद्धारमा तालिमप्राप्त २५ प्रहरी व्यवस्थापन गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

उक्त घरमा भने खोज तथा उद्धारका सामग्री राख्ने प्रक्रियामा छ। उक्त टोलीले मेलम्ची घटनामा खोज तथा उद्धार तथा अवरुद्ध राजमार्ग खुलाउन महत्वपूर्ण भूमिका खेलेको प्रहरीले जनाएको छ।

उक्त टोलीलाई बाढी–पहिरो, आगलागी, भूकम्पलगायतका विपतका घटनामा खोज तथा उद्धार गर्न थप नयाँ प्रविधिको तालिमको दिइने जनाइएको छ। खोज तथा उद्धारमा खट्ने प्रहरीका लागि आवास भवनसमेत निर्माण गर्न बागमती प्रदेश सरकार र धुलिखेल नगरबीच समन्वय भइरहेको उहाँले बताउनुभयो। -रासस


प्रतिक्रिया दिनुहोस