असोज १० गतेबाट दशैंका लागि टिकट बुकिङ खुल्ने, २८ प्रतिशत भाडा बढाउन व्यवसायीको माग

नौलो समाचार संवाददाता
२०७८ आश्विन १, शुक्रबार मा प्रकाशित ६७५ पटक पढिएको
असोज १० गतेबाट दशैंका लागि टिकट बुकिङ खुल्ने, २८ प्रतिशत भाडा बढाउन व्यवसायीको माग

असोज १, काठमाडौं। असोज १० गतेबाट दशैं मनाउन उपत्यका बाहिर जानेहरूका लागि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ ।

यातायात व्यवस्था विभाग, व्यवसायी, ट्राफिक प्रहरी र प्रशासनबीच आज शुक्रबार भएको बैठकले टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो । यसअघि यातायात व्यवस्था विभागले असोज दोस्रो सातादेखि बुकिङ खुला गराउने प्रस्ताव गरे पनि भाडाको विषयलाई लिएर व्यवसायी सकारात्मक देखिएका थिएनन् ।

प्रदेशभित्र चल्ने सवारीको भाडा बढाउन सरकारले ढिलाइ गरेको व्यवसायीहरूको आरोप छ । भाडा नबढेसम्म टिकट बुकिङ खुल्ला नगर्ने अडान लिएका व्यवसायीले यात्रुको सहजताका लागि बुकिङ खुल्ला गर्ने निर्णय गरेको जनाएका छन् ।

प्रदेश सरकारले बढेको भाडा कार्यान्वयन गर्न ढिलाइ गरे पनि दशैंमा २८ प्रतिशत भाडा बढाएर लिन पाउनु पर्ने माग व्यवसायीले माग राखेका छन् । पुरानो बसपार्कबाट अरनिको राजमार्ग हुँदै चल्ने सवारीका लागि बसपार्क नहुँदा दशैंको समयमा निकै ठूलो समस्या पर्ने यातायात व्यवसायीको गुनासो छ ।

अरनिको राजमार्गमा चल्ने सवारीका लागि ट्राफिक प्रहरी कार्यालय तिनकुनेदेखि बालकोटसम्मको करिडोरमा गाडी राख्ने व्यवस्था मिलाउनसमेत महासंघले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस