घट्यो ब्रोइलर कुखुराको मासुको मूल्य

नौलो समाचार संवाददाता
२०७८ आश्विन ४, सोमबार मा प्रकाशित ७९२ पटक पढिएको
घट्यो ब्रोइलर कुखुराको मासुको मूल्य

असोज ४, काठमाडौं। चाडपर्व नजिकिँदै गर्दा ब्रोइलर कुखुराको मासुको मूल्य घटेको छ । निषेधाज्ञा खुलेर बजारमा मासुको खपत बढेसँगै प्रतिकिलो ३६० रुपैयाँसम्म पुगेको ब्रोइलर कुखुराको मासुको मूल्य अहिले घटेर प्रतिकिलो ३०० रुपैयाँमा आएको छ । महामारीको अवस्था सामान्य हुँदै जाँदा कुखुराको उत्पादन बढेको, तर खपत कम भएकाले मूल्य घटेको हो ।

महामारीको प्रभाव कम हुँदै गए पनि ठूला होटेल, रेष्टुराँ, पार्टी प्यालेसहरू राम्ररी चल्न सकेका छैनन् । यस्तै स्कुल, क्याम्पसहरू अझै बन्द रहेकाले मासुको खपत बढ्न नसकेको व्यवसायीहरू बताउँछन् । मासु व्यवसायी संघका अध्यक्ष जंगबहादुर बीसीका अनुसार सामान्य अवस्थामा काठमाडौं उपत्यकामा दैनिक ७ लाख किलो मासुको खपत हुने गरेकोमा अहिले यो परिमाण घटेर करीब ४ लाख ९० हजार किलोमा सीमित रहेको छ ।

महामारीको समयमा विक्री नहुने त्रासका कारण करीब ४० प्रतिशत कुखुरा पालक किसानले आफ्ना खोरमा कुखुरा हालेका थिएनन् । तर अहिले अवस्था सामान्य हुँदै गएपछि अधिकांश किसानले कुखुरा हालेकाले उत्पादन बढेको बताइएको छ । सम्बद्ध किसानले अहिले कुखुराको उत्पादन बढेको बताए तापनि ह्याचरी संघका अनुसार उत्पादन खासै बढेको छैन ।

प्रतिक्रिया दिनुहोस