दसैँ-तिहारलाई चीनबाट अझै आइपुगेन सामान : ‘स्टक माल’ बेच्दै व्यापारी

नौलो समाचार संवाददाता
२०७८ आश्विन ५, मंगलबार मा प्रकाशित ५४७ पटक पढिएको
दसैँ-तिहारलाई चीनबाट अझै आइपुगेन सामान : ‘स्टक माल’ बेच्दै व्यापारी

असोज ५, काठमाडौं। नेपाली व्यापारीले चीनबाट दसैँ-तिहारका लागि मगाएको सामान अझै आइपुगेको छैन । न्यूरोडका थोक (होलसेल) व्यापारीले चीनबाट मगाएको चाडपर्व लक्षित सामान नआइपुगेको हो । चीनबाट नेपालमा दसैँ-तिहारका लागि लत्ताकपडा, जुत्ता-चप्पल, इलेक्ट्रोनिक्स र खेलौना लगायत सामान ल्याइन्छ । लसुन, प्याज र स्याउसमेत आउने गरेको छ।

चीनबाट सामान नआइपुग्दा न्यूरोडमा अझै दसैँ-तिहार लक्षित व्यापारको रौनक बढ्न सकेको छैन । हिमालय सीमापार वाणिज्य संघका निर्वतमान अध्यक्ष बच्चु पौडेलले चीनबाट सामान अझैसम्म नआइपुगेको बताउनुभयो। नेपाल–चीन सडकमार्गमा सवारी आवागमन प्रभावित हुँदा सामान ल्याउन समस्या भएको उहाँले जानकारी दिनुभयो।

कोरोना महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञा तथा केरुङ र तातोपानी सडकमा पटक–पटक पहिरो चल्दा निम्तिएको सडक अवरोध लगायत कारणले सामान ल्याउन ढिलाइ भएको हो । सडकमार्ग हुँदै आयात गरिएको सामान १५ दिनमै नेपाल आइपुग्छ ।

केरुङ र तातोपानी नाकाबाट पर्याप्त सामान ल्याउन नसक्दा यतिखेर व्यापारीहरू समुद्रीमार्ग प्रयोग गरी भारत हुँदै सामान ल्याउनुपर्ने बाध्यतामा परेका छन् । जसकारण समुद्रीमार्ग हुँदै ल्याइने सामान चीनबाट नेपाल आइपुग्न कम्तिमा ६० दिन लाग्छ । संघका अनुसार चीनको समुद्री बन्दरगाहबाट सिंगापुर, श्रीलंकाको कोलम्बो र भारतको बन्दरगाह हुँदै नेपालसम्म सामान ल्याइपु¥याउँदा दुई महिनासम्म समय लाग्छ।

संघका उपाध्यक्ष नयन पण्डित क्षेत्रीले चीनबाट दसैँभन्दा एक महिना अगाडी नै न्यूरोडका होलसेल पसलसम्म सामान ल्याइसक्नुपर्ने बताउनुभयो।

यतिखेर न्यूरोड, वटु टोल रञ्जना गल्लीलगायत क्षेत्रमा दसैँको चहलपहल नै शुरू भएको छैन । पसलमा सामान नै नभएपछि बजारमा चहलपहल नभएको व्यापारीहरूको दाबी छ ।

‘स्टक माल’ बेच्दै व्यापारी

बजारमा चीनबाट नयाँ सामान समयमै ल्याउन नसकेपछि व्यापारीले अघिल्ला वर्षदेखि गोदाममा थन्किएर बसेका ‘स्टक माल’ (मौज्दात सामान) बेचिरहेका छन् । वटु टोलका होलसेल व्यापारी आनन्द श्रेष्ठले यो वर्ष नयाँ सामान नआइपुगेपछि अघिल्ला वर्षमा गोदाममा थन्किएका सामान बिक्री गरिरहेको बताउनुभयो।

रञ्जना ट्रेड सेन्टरका होलसेल व्यापारी विशाल श्रेष्ठले चीनबाट समयमै सामान नआउँदा व्यापार प्रभावित बनेको बताए । उनले ‘अर्डर’ गरेको सामान समयमै नआइपुग्दा बजारको धेरथोर माग पनि धान्न नसकिएको रातोपाटीलाई बताउनुभयो।

समुद्रीमार्गबाट सामान

नेपाल–चीन व्यापारमा प्रयोग हुँदै आएको तातोपानी र केरुङ नाकाबाट सामान आयातमा समस्या देखिएपछि व्यापारीले समुद्रीमार्गबाट सामान ल्याउन लागेका छन्

अहिले चीनबाट नेपाल आउने कुल सामानमध्ये ९५ प्रतिशत सामान समुद्रीमार्ग हुँदै मगाइएको हिमालय सीमापार व्यापार संघले बताएको छ ।

यसअघि ८५ प्रतिशत सामान समुद्रीमार्ग र १५ प्रतिशत सडकमार्ग हुँदै ल्याइन्थ्यो । कोभिडका कारण चीनले पटकपटक उत्तरी नाकामा अवरोध गर्दा व्यापारीहरूले केरुङ र तातोपानीबाट भन्दा समुद्रीमार्गबाट सामान ल्याउन थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस