३ जिल्लामा कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाइयो

नौलो समाचार संवाददाता
२०७८ आश्विन ८, शुक्रबार मा प्रकाशित ८३० पटक पढिएको

३ जिल्लामा कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाइयो

असोज ८, काठमाडौँ। कोरोना भाइरसविरुद्धको खोप तीन जिल्लामा पूर्णमात्रामा लगाइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले मनाङ, मुस्ताङ र पूर्वरुकुममा सबै लक्षित जनसङ्ख्यामा पूर्णमात्रामा खोप लगाएको जानकारी दिनुभएको छ।

यस्तै काठमाडौँ उपत्यकामा ४० प्रतिशत, भक्तपुरमा ४१ प्रतिशत र ललितपुरमा ३८ प्रतिशतले कोरोना भाइरसविरुद्धको पूर्णमात्राको खोप लगाएको छ। मुलुकभरि करिब १८ प्रतिशत जनसङ्ख्याले पूर्णमात्राको खोप लगाएका छन्।

सरकारले यही असोज मसान्तसम्ममा ३३ प्रतिशतलाई पूर्णमात्राको खोप लगाउने लक्ष्य राखेको छ । कूल दुई करोड १३ लाख जनसङ्ख्यालाई खोप लगाउने सरकारको तयारी रहेको छ। नेपालमा कोभिशिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन र एस्ट्राजेनिका खोप लगाइएको छ।

आज देशभर एक लाख ७२ हजार ५९० जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। अहिलेसम्म पूर्ण मात्रा खोप लगाउने र पहिलो मात्रा मात्र लगाउने गरी १ करोड ४७ लाख ५३ हजार १५५ जनामा कोरोनाविरुद्धको खोप लगाइएको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस