काभ्रेमा रेबिज रोगबाट हुने मानविय क्षतिलाई शून्यमा पुर्‍याउने प्रतिबद्धता

नौलो समाचार संवाददाता
२०७८ आश्विन १९, मंगलबार मा प्रकाशित १०१७ पटक पढिएको
काभ्रेमा रेबिज रोगबाट हुने मानविय क्षतिलाई शून्यमा पुर्‍याउने प्रतिबद्धता

असोज १९, काभ्रे। काभ्रे जिल्लालाई कुकुरको टोकाईबाट हुने रेबिज रोगबाट हुने मानविय क्षतिलाई शून्यमा पुर्‍याउने प्रतिबद्धता गरिएको छ । आज (मंगलबार) काभ्रेको धुलिखेलमा आयोजित रेबिज रोग नियन्त्रण स्थानिय तहसंग सहकार्य र भावीदिशा विषयक अन्तरक्रिया कार्यक्रममा जिल्लाका १३ वटै स्थानिय तहका जनप्रतिनिधिहरुले हातेमालो गरी वि.सं. २०८७ सम्म काभ्रेलाई रेबिज रोगबाट हुने मानविय क्षतिलाई शून्यमा पुर्‍याउने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका हुन् ।

काभ्रेमा मात्र कुकुरको टोकाईबाट हुने रेबिज रोगबाट एक वर्षमा ५ जनाको मृत्यु हुने गरेको तथ्यांक रहेको छ । चौरीदेउराली गाउँपालिकामा ३ जना र धुलिखेलमा २ जनाको रेबिज रोगबाट मृत्यु भएको हो ।

यसैगरी, प्रतिबद्धता पत्रमा रेबिज रोग नियन्त्रणका लागि आवश्यक पर्ने साधन स्रोत, खोप, जनशक्ति, तथा प्रविधिको प्रयोग, घरपालुवा कुकुरको दर्ता, बन्ध्याकरण र फोहरमैला व्यवश्थापन लगायतका कार्यबाट सामुदायिक कुकुरको संख्या नियन्त्रण गर्ने, रेबिज रोग नियन्त्रणका लागि तीन तहका सरकारविच एकआपसमा हातेमालो गर्दै सहयोग आदानप्रदान गर्ने र सोहि क्रममा खोप तथा क्षमता अभिबृद्धिका कार्य संघिय सरकारबाट व्यवस्थापन गर्ने र रेबिज रोगबारे जनचेतनामूलक कार्य प्रभावकारी रुपमा संचालन गर्न संचार क्षेत्रको अधिकतम् उपयोग गर्ने बुदाहरु समेटिएका छन् ।

प्रतिबद्धता पत्रमा पशु सेवा विभागका महानिर्देशक डा. दमयन्ती श्रेष्ठ, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मालागायतले हस्ताक्षर गर्नुभएको थियो ।

अब्यवस्थित शहरीकरण, फोहरमैला, बधशाला र कुकुरको संख्या बढेकाले पनि रेबिज रोगको जोखिम बढ्दै गएको भन्दै सहभागीहरुले चिन्ता व्यक्त गरेका छन् ।

पशुसेवा विभाग र एफ.ए.ओ ले कार्यक्रमको आयोजना गरेका हुन् ।

कार्यक्रममा जिल्लाका १३ वटै पालिकाका प्रमुख, उप-प्रमुख, कृषि तथा पशुपन्छी शाखा प्रमुख, कर्मचारी तथा संचारकर्मीहरुको उपस्थिीती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस