खाद्य लिमिटेडले शुक्रबारदेखि खसीबोका बिक्री गर्दै

नौलो समाचार संवाददाता
२०७८ आश्विन १९, मंगलबार मा प्रकाशित ६२८ पटक पढिएको

खाद्य लिमिटेडले शुक्रबारदेखि खसीबोका बिक्री गर्दै

असोज १९, काठमाडाैं। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आउँदो शुक्रबार(असोज २२ गते) देखि खसीबोकाको बिक्री वितरण सुरु गर्ने भएको छ । गतवर्ष १ हजारवटा खसीबोका र १ हजार वटा च्याङ्ग्रा बिक्री गरेको कम्पनीले यस वर्ष २ हजार वटा खसीबोका मात्रै बिक्री वितरण गर्न लागेको हो।

कम्पनीले यस वर्षको दशैंका लागि २ हजार खसीबोका काठमाडौंमा ल्याउने तयारी गरेको छ।

कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दशैंमा खसीबोका र च्याङग्रा बिक्री गर्दै आएको छ। तर, यस बर्ष च्याङ्ग्रा नपाइएको र पाइएको पनि मूल्य अत्याधिक बढेको भन्दै कम्पनीले च्याङ्ग्रा बिक्री वितरण नगर्ने बताएको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी बागमती प्रदेश कार्यालयकी सूचना अधिकृत शर्मिला न्यौपानेले घटस्थापनाको भोलिपल्टदेखि अर्थात असोज २२ गतेदेखि राजधानीमा खसिबोका बिक्रि वितरण सुरु गर्ने जानकारी दिनुभयो।

कम्पनीले दाङको तुलसीपुरबाट ८ सय वटा र हेटौडाबाट १२ सय वटा खसीबोका ल्याउने तयारी गरेको पनि उहाँले जानकारी दिनुभयो। कम्पनीले विगतमा निजी क्षेत्रले बेच्ने बजार मूल्यभन्दा प्रतिकिलो १० रुपैयाँ मूल्य घटाएर खसी बोका बिक्री गर्ने सूचना अधिकृत न्यौपानले जानकारी दिनुभयो।

कम्पनीले माग धान्नभन्दा पनि बजार मूल्य नियन्त्रणका लागि विगतमा झैं यसपटक पनि खसीबोका बिक्री गर्न लागेको बताएएको छ । दशैंका बेला काठमाडौं उपत्यकामा खसीबोकाको ११ लाख किलोभन्दा बढी मासु खपत हुने अनुमान छ।

चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि कम्पनीले सहुलियत पसल पनि सञ्चालनमा ल्याएको छ । कम्पनीले ३९ जिल्लाका ४३ आउटलेटबाट दैनिक उपभोग्य खाद्य सामग्रीहरुमा ५ देखि १० रुपैयाँसम्म छुट दिएर बिक्री वितरण गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस