सामुदायिक साकोसको २७ औं साधारण सभा: QR भुक्तानी सेवा शुरु, १८% शेयर लाभांशको घोषणा

नौलो समाचार संवाददाता
२०७८ आश्विन २१, बिहिबार मा प्रकाशित ९५० पटक पढिएको

सामुदायिक साकोसको २७ औं साधारण सभा: QR भुक्तानी सेवा शुरु, १८% शेयर लाभांशको घोषणा

असोज २१, काभ्रे। सामुदायिक वचत तथा ऋण सहकारी संस्था लि. को २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।

आज (बिहिबार) संस्थाको मुख्य कार्यालय पनौती-४, टौखालमा डिजिटलाईजेशनमा अर्को फड्को मार्दै आफ्ना सदस्यहरुलार्य QR भुक्तानी सेवाको शुभारम्भ सहित साधारण सभा सम्पन्न गरेको हो।

कार्यक्रममा ३ अर्ब ३ करोडको पूँजि र ३१ हजार २६३ जना शेयर सदस्य रहेको प्रतिवेदन प्रस्तुत गरिएको थियो।

साधारण सभाकै अवसरमा संस्थाले प्रिमियर डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा २०७८ असोज १६ र १७ गते निः शुल्क दन्त शिविर कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा १५२ जना ब्यक्तिहरुले सहभागी भई स्वास्थ्य उपचार लिएका थिए।

कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका उपनिर्देशक श्री लक्ष्मी नारायण ताम्राकारले पानसमा दिप प्रज्वलन गरी शुभारम्भ गर्नु भएको कार्यक्रममा संस्थाको नविनतम सेवा QR भुक्तानी सेवाको शुभारम्भ गर्नु भएको थियो। राष्ट्र बैंकको उद्देश्य अनुरुप संस्थाले डीजिटाईजेशन तर्फ सदस्यहरुलाई उन्मुख गराउदै लगेकोमा खुसी व्यक्त गर्नु हुँदै उपनिर्देशक ताम्राकारले विभिन्न सुझावहरु राख्नु भएको थियो ।

मन्तव्यका क्रममा विशिष्ट अतिथि ईन्द्रप्रसाद अधिकारीले शुसानलाई पालन गर्दै अव्वल वन्दै गएको सहकारी सदस्यहरु प्रति जिम्वेवार वन्दै अझ प्रगती पथमा लागोस भन्दै साधारण सभा सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो।  यस्तै कार्यक्रममा अतिथिको तर्फवाट मन्तव्य राख्दै नेफस्कूनका पूर्व प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले  राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा आफ्नो छुट्टै सफल पहिचान वनाउन सफल यस संस्थाले सदस्यहरुको विश्वास जित्न सकेकाले नै यो उपलव्धि हासील गरेको हुँदा सेवा प्रवाहमा गुणस्तरियता कायम राख्नका लागि संस्था सदैव चनाखो हुनुपर्ने वताउनु भएको थियो।

संस्थाका प्रमुख सल्लाहाकार एवं जिल्ला सहकारी संघ काभ्रेका लेखा संयोजक शम्भुलाल श्रेष्ठले विगतका संघर्षका दिनहरु पार गर्दै यो चरणसम्म आईपुगेको संस्थाले सदस्य हित तर्फ सदैव सचेत रहनु पर्ने विचार व्यक्त गनु भएको थियो ।

यसैगरी, संस्थाका अध्यक्ष एवं सभाका सभाध्यक्ष प्रकाश बन्जाराले ऐन, नीति, नियमको अधिनमा रही सदस्यलाई सेवा सुविधा प्रदान गर्न कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धताका साथ १८ प्रतिशत शेयर लाभांशको प्रस्ताव पारित गराउँदै आगामी दिनमा थप प्रतिस्पर्धी र गुणस्तरिय सेवा उपलब्ध गराउने योजना सहित सभाको समापन गर्नुभएको थियो। कार्यक्रममा उपाध्यक्ष कुमार प्रसाद लामिछानेले साधारण सभामा उपस्थित सम्पूर्णमा स्वागत गर्नुभएको थियो भने, सचिव मुकुन्द शर्मा, कोषाध्यक्ष प्रताप ताम्राकार, लेखा सुपरिवेक्षण समितिका संयोजक हरिप्रसाद तिमल्सिनाले आ­आफ्नो प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

२०५१ साल माघ १४ गते स्थापना भई समुदायमा आधारित सदस्य केन्द्रीत वित्तीय तथा गैर वित्तीय क्रियाकलापहरु संचालन गर्दै आएको सहकारी संस्थाले काभ्रे जिल्ला र काठमाण्डौ उपत्यकासहित ४ जिल्ला कार्यक्षेत्र विस्तार गरी १४ वटा सेवाकेन्द्र सहित सेवा प्रदान गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस