मन्त्री लामाद्वारा नमोबुद्ध ८ को वडा कार्यालय र दाप्चा सडक उद्घाटन

नौलो समाचार संवाददाता
२०७८ आश्विन २३, शनिबार मा प्रकाशित ९१७ पटक पढिएको
मन्त्री लामाद्वारा नमोबुद्ध ८ को वडा कार्यालय र दाप्चा सडक उद्घाटन

असोज २३, काभ्रे। नमोबुद्ध नगरपालिका वडा नं. ८ को नवनिर्मित पक्की वडा कार्यालय भवनको आज (शनिबार) उद्घाटन गरिएको छ।
बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामाले शनिबार आयोजित एक समारोहका बीच कार्यालय भवनको उद्घाटन गर्नुभएको हो। नमोबुद्ध नगरपालिकाले सबै वडा कार्यालयको पक्की प्रशासनिक भवन निर्माणको काम अन्तिम चरणमा पु¥याउने क्रममा आर्थिक बर्ष २०७७/७८ मा एकसाथ पाँच वटा वडा कार्यालय भवन निर्माण गरेको थियो । त्यसमध्ये वडा नं. २, वडा नं. १० र वडा नं. ११ को कार्यालय भवन यसअघि नै निर्माण सम्पन्न भई उद्घाटन भइसकेको छ । शनिबार वडा नं. ८ को भवन उद्घाटन भएसँगै अब वडा नं. ९ को भवन उद्घाटन हुन बाँकी रहेको छ । उक्त भवनको निर्माण कार्यसमेत सम्पन्न भइसकेको छ ।

यसअघि नै वडा नं. ३ र ६ को वडा कार्यालय निर्माण भइसकेको छ भने चालु आर्थिक बर्षमा वडा नं. १, ४ र ५ को भवन निर्माणको ठेक्का सम्झौता भएको छ । वडा नं. ८ को भवन निर्माणका लागि भ्याटबाहेक ४१ लाख १७ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
वडा कार्यालय भवनको उद्घाटन कार्यक्रममा बागमति प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामाले आफू प्रदेशसभा सदस्यमा निर्वाचित भएदेखि नै आफ्नो निर्वाचन क्षेत्र तथा समग्र नमोबुद्ध नगरपालिकाको विकास र समृद्धिको लागि लागिपरेको बताउनुभयो।

नमोबुद्ध नगरका हरेक टोलसम्म आफूले सक्दो योजना तथा बजेट पु¥याएको बताउँदै लामाले आगामी दिनमा पनि समृद्ध नमोबुद्धको सपना साकार पार्न प्रतिवद्ध भएर लाग्ने बताउनुभयो। जनअपेक्षाअनुसार काम गर्न सके मात्रै आफू निर्वाचित हुनु र मन्त्री बन्नुको औचित्य सावित हुने भन्दै उनले जनअपेक्षा पुरा गर्न हरपल लागिपर्ने बताउनुभयो। नमोबुद्धमा सडक, खानेपानी सिञ्चाई लगायतका सुविधाका लागि आफूले सक्दो काम गरेको उहाँको भनाई थियो । आफू मन्त्री बनेको भोली एक महिना पुरा हुने बताउँदै लामाले कृषि, सहकारी क्षेत्रको विकासका लागि कार्ययोजना निर्माण गरिसकेको र त्यसलाई क्रमश कार्यान्वयनमा लैजाने बताउनुभयो।

कार्यक्रममा नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले नगरपालिकाको प्रमुख प्रशासकीय भवन, सबै वडा कार्यालयको पक्की भवन, स्वास्थ्य संस्थाको भवन निर्माण सम्पन्न हुने क्रममा पुग्नु आफ्नो कार्यकालको महत्वपूर्ण उपलव्धी भएको बताउनुभयो। नगरमा स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि र पर्यटन क्षेत्रको विकाससँगै समृद्ध नगरको सपना साकार पार्न आफूहरु लागिपरेको उहाँको भनाई थियो । नगर प्रमुख तिमल्सिनाले नगरको गौरवको रुपमा मेथिनकोट अस्पताल प्रदेश अस्पतालको रुपमा स्तरोन्नति भएको, उक्त अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको, दाप्चा सडक कालोपत्रे भएको बताउनुभयो। नगरका सबै वडामा सडक निर्माणको काम तीब्ररुपमा अघि बढेको तथा दाप्चाबाट नगरपालिकाको केन्द्रसम्म पुग्ने सडक पक्की बनाउन काम भइरहेको उहाँले बताउनुभयो।

यस्तै नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले गाउँगाउँमा सिंहदरबारको नारालाई व्यवहारमै कार्यान्वयन गर्न, नागरिकलाई सहजरुपमा सेवा प्रवाह गर्नका लागि सबै वडाको कार्यालय भवन निर्माण भएको बताउनुभयो। भौतिक पूर्वाधारको निर्माणमा नमोबुद्ध नगरपालिकाले एक कदम अघि रहेर काम गरेको तथा नागरिकलाई सहज होस् भन्ने उद्देश्यले वडा कार्यालयबाट तथा अनलाइनमार्फत घरबाटै राजस्व तिर्नसक्ने व्यवस्था गरिएको पौडेलले बताउनुभयो। यस्तै वडा नं. ८ का वडा अध्यक्ष शेरवहादुर तामाङले आफू निर्वाचित भएपछि वडामा सडक, विद्यालय, स्वास्थ्य संस्था निर्माणको काम तीब्र रुपमा अघि बढाइएको बताउनुभयो।

कार्यक्रममा संविधानसभा सदस्य रामहरि सुवेदी, नमोबुद्ध नगरपालिका वडा नं. ९ का अध्यक्ष मेलवहादुर लामा, तत्कालिन डराउने पोखरी गाविसका पूर्वअध्यक्ष उद्धवप्रसाद हुमागाईं लगायतले मन्तव्य राक्नुभेको थियो। कार्यक्रममा बागमति प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामालाई मन्त्री नियुक्त भएकोमा बधाईसहित सम्मान गरिएको थियो ।

फूलबारी–काँक्रे सडकको उद्घाटन


आजै बागमति प्रदेश सरकारका मन्त्री चन्द्र लामाले फूलबारी–नमोबुद्ध–दाप्चा–तल्लोहटिया–काँक्रे सडकको उद्घाटन गर्नुभएको छ। फूलबारीमा आयोजित एक कार्यक्रमका बीच मन्त्री लामाले प्रदेश सरकारको सहयोगमा कालोपत्रे भएको उक्त सडकको उद्घाटन गर्नुभएको हो।

काभ्रे–भन्ज्याङ्–नमोबुद्ध–काँक्रे सडक आयोनाअन्तर्गत पूर्वाधार विकास कार्यालय काभ्रेमार्फत फूलबारीदेखि तल्लो हटियासम्म उक्त सडक कालोपत्रे भएको छ । यसमध्ये दाप्चाको पुरानो बजार क्षेत्रमा भने यसबै बर्ष ढलानसहित ढुंगा बिछ्याउने कार्य हुँदैछ । ८ दशमलव ५ किलोमिटर लम्बाईको उक्त सडक निर्माणका लागि १५ करोड ७० लाख ७१ हजार ८ सय ७२ रुपैयाँ खर्च भएको छ ।
संविधानसभा सदस्य रामहरि सुवेदीको कार्यकालमा डिभिजन सडक कार्यालय भक्तपुरबाट निर्माण सुरु भएको सडक कालोपत्रे गर्ने काम प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयमा हस्तान्तरण भएसँगै आर्थिक बर्ष २०७७/७८ मा सकिएको हो । पूर्वाधार विकास कार्यालयमार्फत २०७४ असार ८ गते सम्झौता भई सडक निर्माण सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस