कास्कीमा जीप दुर्घटना, ८ जनाको मृत्यु, एक घाईते (मृतकको नामसहित)

नौलो समाचार संवाददाता
२०७८ आश्विन २५, सोमबार मा प्रकाशित ३७१ पटक पढिएको
कास्कीमा जीप दुर्घटना, ८ जनाको मृत्यु, एक घाईते (मृतकको नामसहित)

असोज २५, पोखरा। कास्कीको नयाँपुलबाट घान्द्रुक जाँदै गरेको जीप मोदीखोलामा खस्दा चालकसहित ८ जनाको ज्यान गएको छ। घटनामा ज्यान गुमाउने सबै काठमाडौँबाट गएका स्वदेशी पर्यटकहरुको टोली रहेको स्थानीयले पुष्टि गरेका छन्।

काठमाडौंबाट घान्द्रुक घुम्न गएका ७ जनासहित ९ जना जिपमा सवार रहेका थिए। दुर्घटनामा चालकसहित ८ जनाको मृत्यु भएको हो।

कास्की प्रहरी प्रमुख एसपी रमेश थापाका अनुसार उनीहरु काठमाडौंबाट आएको र नयाँपुलबाट जीप रिजर्भ गरेर घान्द्रुकतर्फ गएका थिए।

जीपमा सवार ८ जनामध्ये एक जना युवती भने भीरमा अड्केर बाँचेको प्रहरीले जानकारी दिएको छ। जीप सडकभन्दा २ सय मिटर तल मोदीखोलामा खसेको थियो।

उनीहरु घान्द्रुक नजिकै हुदु भन्ने ठाउँमा दुर्घटनामा परेका थिए।

काठमाडौँबाट सोमबार नै नयाँपुल पुगेका स्वदेशी पर्यटकहरु नयाँपुलबाट घान्द्रुकतर्फ हिँडेको केहीबेरमै दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ।

मृतकमध्ये ७ जना दशैं विदामा काठमाडौंबाट घान्द्रुक घुम्न आएका विद्यार्थी रहेको खुलेको छ।

दुर्घटनामा मृत्यु हुने जीप चालक अन्नपूर्ण गाउँपालिका–५ का ४२ वर्षीय खुसीमान क्षेत्री छन्। यस्तै काठमाडौंबाट घुम्न जाँदै गरेका गोंगबुका १८ वर्षीय जिनलव घिसिङ, सोही ठाउँका २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुन चौधरीको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ।

यसैगरी सँगै घुम्न जाँदै गरेका २२ वर्षीय अछुतम् काफ्ले, १८ वर्षीय आशिष आले र गोरखाका २७ वर्षीय क्षेत्री थरका एक व्यक्तिको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते २० वर्षीय देवीका घिसिङको भने सकुशल उद्धार गरिएको प्रदेश प्रहरी कार्यालयका डीएसपी श्रवणकुमार विकले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस