बडादशैंको सातौ दिन आज घरघरमा फूलपाती भित्र्याइदै, टुँडिखेलमा फूलपाती बढाइँ

नौलो समाचार संवाददाता
२०७८ आश्विन २६, मंगलबार मा प्रकाशित १००२ पटक पढिएको
बडादशैंको सातौ दिन आज घरघरमा फूलपाती भित्र्याइदै, टुँडिखेलमा फूलपाती बढाइँ

असोज २६, काठमाडौं। हिन्दु नेपालीहरुको महान चाड वडा दशैंको सातौ दिन, आज देशभर घरघरमा धार्मिक विधिपूर्वक फुलपाती भित्र्याइदै छ ।

सप्तमी तिथिमा पर्ने यसदिन हिन्दु धर्मावलम्बीहरुले शुभ साइतको प्रतीक फुलपाती घरघरमा शास्त्रीय विधि अनुसार भित्र्याउदै छन् । घटस्थापनादेखि पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने प्रचलन छ । फूलपातीका दिन नौ देवीको प्रतीकका रुपमा फूलपाती भित्र्याई शास्त्रीय विधि अनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

हनुमानढोकास्थित दशैंघरमा भित्र्याइदै

आजकै दिन हनुमानढोकास्थित दशैंघरमा पूजारीसहित फूलपाती ल्याउने र भित्रयाउने प्रचलन छ । घटस्थापनाका दिनदेखि दशैं शुरु हुने भएपनि दशैंको विशेष चहलपहल भने फूलपातीका दिनदेखि सुरु हुने गर्दछ । फूलपातीदेखि पूर्णिमासम्म सरकारी कार्यालय पनि बन्द हुने भएकाले घरबाट टाढा रहेका व्यक्तिहरु मूलघरमा दुर्गा भवानीको टीका थाप्न जानेक्रम शुरु हुने गर्दछ । तर योवर्ष पनि कोरोना महामारीको जोखिम भएकाले भौतिक दुरि कायम गरि चार्ड पर्व मनाउन सरकारले आग्रह गरेको छ ।

सैनिक मञ्च टुँडिखेलमा मंगलबार फूलपाती बढाइँ

यस्तै नेपाली सेनाले परम्परागत रूपमा फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा मंगलबार फूलपाती बढाइँ गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँ समारोहमा सरिक हुनुहुनेछ । नेपाली सेनाका परमाधिपति समेत रहनुभएकी राष्ट्रपति भण्डारी फूलपाती बढाइँ समारोहमा सरिक भए पश्चात सेनाले राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ प्रस्तुत गर्नेछ । सैनिक हेलिकप्टरले पुष्पवृष्टिका साथै सैनिक ब्याण्डबाट राष्ट्रिय धुन प्रस्तुत हुनेछ । त्यस अवसरमा इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपास सहितको बढाइँ हुुनेछ ।


प्रतिक्रिया दिनुहोस