बुधबारसम्म मौसम प्रभावित हुने, तीनवटा प्रदेशमा हावाहुरीसहित भारी वर्षाको सम्भावना

नौलो समाचार संवाददाता
२०७८ कार्तिक १, सोमबार मा प्रकाशित ५८९ पटक पढिएको

बुधबारसम्म मौसम प्रभावित हुने, तीनवटा प्रदेशमा हावाहुरीसहित भारी वर्षाको सम्भावना

कात्तिक १, काठमाडौं। थप केही दिन नेपालको मौसम प्रभावित हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल बंगालको खाडीमा र मध्य भारतमा रहेका(उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण केही दिन नेपालको मौसम प्रभावित हुने भएको हो ।

आज र भोलि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तथा प्रदेश १ (मंगलबारदेखि) का धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानहरुमा मेघ गर्जन/चट्यांग र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको छ। बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

यस्तै बागमती प्रदेशमा ठुलो वर्षाको सम्भावना छैन तर घाम लाग्ने सम्भावना आज कमै छ। काठमाडौं लगाएत आसपासका जिल्लाहरुमा आज दिनभर मौसम बदली हुन्छ। बदली भएर दिउँसो पानी पर्ने सम्भावना छ।

बुधबार प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा मेघ गर्जन/चट्यांग र हावाहुरीसहित भारी वर्षा र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हिमपातको पनि सम्भावना रहेको छ । त्यसैले सजग रहन विभागले आग्रह गरेको छ । विशेषतः यात्रा र कृषि कर्म गर्दा मौसमको सूचना हेरी सजग रहन विभागले आग्रह गरेको छ ।

मनसुन बाहिरिए पनि नयाँ मौसम प्रणाली विकास भएका कारण पुनः वर्षा र हिमपातको सम्भावना रहेको हो ।


प्रतिक्रिया दिनुहोस