तिहारकाे चहलपहल शुरू, माटाका भाँडा बनाउन भक्तपुरका कुमालेलाई भ्याइनभ्याइ

नौलो समाचार संवाददाता
२०७८ कार्तिक ५, शुक्रबार मा प्रकाशित ६६१ पटक पढिएको
तिहारकाे चहलपहल शुरू, माटाका भाँडा बनाउन भक्तपुरका कुमालेलाई भ्याइनभ्याइ

कात्तिक ५, काठमाडाैं। नेपालीको दोस्रो ठूलो पर्व तिहार नजिक आउँदैछ। यसका लागि आवश्यक सामग्री फलफूल, सयपत्री र मखमली फूलको माला, भाइ मसलासँगै दियो बाल्ने पालाकोसमेत खपत र माग दिनानुदिन बढ्दो छ।

बजारमा पालाको माग बढेसँगै भक्तपुरका कुमाले समुदायलाई यतिखेर पाला बनाउने, सुकाउने र पोलेर तयार गरी बजार पठाउन भ्याइनभ्याइ भएको छ। तालक्व (पोटरी स्क्वायर) का हरिशरण प्रजापतिका अनुसार तिहार आउन अझै हप्ता दिनभन्दा बढी समय बाँकी छ। हप्ता दिनभित्र मागअनुसारको पाला पठाउन नसके बनाएको व्यर्थ हुन्छ।”

उहाँका अनुसार अचेल तालक्वका कुमाले समुुदायको दिनचर्या नै पाला तयार गर्ने कार्य मै बित्ने गरेको छ । तिहारमा पालाको उच्च माग हुने भएपछि यतिखेर उनीहरुले अन्य माटाका भाँडा बनाउने कामलाई थाँती राखेका छन् । तिहारमा लक्ष्मी पूजाका लागि बाहिरी जिल्लाबाट समेत पालाको माग आउने भएकाले गमला, धुपौरो, खुत्रुकेलगायत विभिन्न पर्यटकीय सामग्री बनाउने कामलाई थाँती राखेर पाला बनाउने काममा व्यस्त भएको उहाँले बताउनुभयो ।

अहिले भक्तपुरका तालक्वका कुम्हाले मात्र होइन सुजमारी, लिवाली, तुमुचो, च्याम्हासिंह र सूर्यविनायकका कुमालेसमेत अन्य भाँडा बनाउने कार्यलाई थाँती राख्दै पाला बनाउने कार्यमा तल्लीन छन् ।

विशेषगरी धनकी देवी लक्ष्मीको पूजा गर्ने पर्व भएकाले तिहारमा फलफूल, सयपत्री फूलसँगै झिलीमिली बत्ती बाल्ने गरिन्छ । धनकी देवी लक्ष्मीलाई घरमा भित्र्याउन तिहारमा झिलीमिली बत्ती बाल्ने परम्परा छ । तिहारको लक्ष्मी पूजाको दिन दिपावली गर्न घरको दैलो, झ्याल ढोका, कौशी, बरण्डालगायत स्थानमा पालाको दियो बाली झिलीमिली पार्ने परम्परा छ ।

जिल्लामा उत्पादन गरेको पाला उपत्यकालगायत काभ्रेको बनेपा, धुलिखेल, पनौती, धादिङको धादिङवेशी, नुवाकोटको त्रिशूलीका साथै पोखरा, हेटौँडा, चितवनका व्यापारीलेसमेत लिन आउने गरेको जनाइएको छ ।

कुमालेले तयार भएको पाला थोकविक्रेता व्यापारीलाई बिक्री गरिन्छ । थोकबिक्रेता व्यापारीले एउटा पालाको एकदेखि दुई रुपैयाँमा हजारौँको सङ्ख्यामा खरिद गर्ने र उनीहरुले केही मुनाफा खाएर काठमाडौँ उपत्यकाका विभिन्न स्थानका खुद्रा बिक्रेतामार्फत उपभोक्ता माझ पु¥याउने गरेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस