बेमौसमी बर्षाले ७ अर्ब भन्दा बढीको धानबाली नष्ट, उम्रिन थाल्यो डुबेको धान

नौलो समाचार संवाददाता
२०७८ कार्तिक ५, शुक्रबार मा प्रकाशित ११८१ पटक पढिएको
बेमौसमी बर्षाले ७ अर्ब भन्दा बढीको धानबाली नष्ट, उम्रिन थाल्यो डुबेको धान

कात्तिक ५, काठमाडौं। गत आइतबारदेखिको बेमौसमी वर्षाले ३ वटा प्रदेशमा मात्रै झण्डै सवा ७ अर्ब रुपैयाँ बराबरको धानबाली नष्ट भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १ बाट प्राप्त प्रारम्भिक अनुमानित विवरणअनुसार ती प्रदेशहरुमा ६७ हजार ९ सय १९ हेक्टर क्षेत्रफलमा लगाइएको झण्डै २ लाख ५८ हजार ९२ मेट्रिकटन धान बर्षातका कारण क्षति भएको अनुमान गरिएको छ।

१ लाख ९८ हजार ५ सय २१ हेक्टर क्षेत्रफलमा लगाइएको धानलाई भने असर मात्रै पुर्‍याएकाे मन्त्रालयले जनाएको छ। अनुमानित विवरणअनुसार लुम्बिनी प्रदेशका चार जिल्लामा वर्षातको असर धेरै छ। प्रदेशका बर्दिया, कपिलवस्तु, बाँके र रुपन्देही धेरै प्रभावित हुने जिल्लाहरु हुन्।

यो प्रदेशमा ४२ हजार ४२७ हेक्टरमा लगाइएको धानमा क्षति पुगेको छ। प्रदेशभर ४ अर्ब ५१ करोड रुपैयाँ भन्दा धेरै मूल्यको एक लाख ६१ हजार २२३ मेट्रिकटन धानमा वर्षाले क्षति पुर्‍याएकाे छ। सुदूरपश्चिमका कैलाली र कञ्चनपुर दुई जिल्लाका किसानले लगाएको धानमा वर्षातले धेरै असर पुर्‍याएकाे मन्त्रालयको प्रारम्भिक विवरणमा उल्लेख छ।

प्रदेशभर ५५ हजार हेक्टर क्षेत्रफलको धानमा असर पुगे पनि क्षति भने १८ हजार हेक्टरमा मात्रै छ। एक अर्ब ९१ करोड ५ लाख २० हजार रुपैयाँ बराबरको ६८ हजार ४ सय रुपैयाँ मेट्रिक धानमा सुदूरपश्चिम प्रदेशमा असर देखिएको छ।

यस्तै प्रदेश १ को झापा, सुनसरी र मोरङमा वर्षातको असर धेरै छ। यहाँ ८० करोड रुपैयाँ बराबरको २८ हजार ४ सय ६९ मेट्रिकटन पाकेको धानमा क्षति पुगेको छ। वर्षाका कारण सातै प्रदेशमा असर पुगेको र सबै प्रदेशबाट तथ्यांक नआइसकेकाले प्रभावित क्षेत्र र क्षतिको विवरण अझै बढ्न सक्ने मन्त्रालयले जनाएको छ।

उम्रिन थाल्यो डुबेको धान

पाकेको धान काटेर भित्र्याउन ठिक्क पारेको अवस्थामा गत आइतबारदेखि अविरल वर्षाका कारण खेत नै डुबानमा परेको हो। पाँच दिनसम्म डुबेको धानमा टुसा उम्रिन थालेको छ। पानीभित्रै रहेको धान परालसहित कुहिन थालेको छ भने पानीबाट बाहिर निकालेर थुपारेर राखिएको धानमा टुसा उम्रिन थालेको कैलालीका किसान प्रकाश थापाले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस