कात्तिक ६, काठमाडौं। आज पनि देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएर देशका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
पानी पार्ने प्रणाली नेपालमा अहिले नभए पनि स्थानीय वायुको प्रभावका कारण देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएर वाग्मती प्रदेश, प्रदेश-१ र २ का केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।
उहाँका अनुसार पोष्ट मनसुनको समयमा पनि केही लक्ष्यण प्रि-मनसुनको समयमा जस्तै देखिने भएकाले छिनमै मौसम बद्ली हुने गर्छ। तर प्रि-मनसुनमा जस्तो पोष्ट मनसुनमा भने हावाहुरी र चट्याङ्गसहितको पानी पर्ने सम्भावना त्यति नहुने उहाँले बताउनुभयो।
मनसुन पछिको एक, दुई महिनाको समयलाई पोष्ट मनसुन भन्ने गरिन्छ । त्यही कारण काठमाण्डौसहित केही पहाडी भेगको मौसम अहिले धुम्मिएको जस्तो देखिएको छ । दिउँसो धुम्मिएको बादल हटेर अलि सफा हुनेछ र एक छिन घाम लाग्ने र फेरि बद्ली हुने सम्भावना रहेको उहाँले बताउनुभयो ।
भोलि बेलुकासम्मको मौसम लगभग यस्तै हुने मौसमविद् प्रधानाङ्गले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस