धानमा क्षति बेहोरेका किसानलाई सरकारले ६५ प्रतिशतसम्म राहत दिने

नौलो समाचार संवाददाता
२०७८ कार्तिक ११, बिहिबार मा प्रकाशित १००७ पटक पढिएको

धानमा क्षति बेहोरेका किसानलाई सरकारले ६५ प्रतिशतसम्म राहत दिने

कात्तिक ११, काठमाडौं। सरकारले बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने भएको छ। सरकारले धानबालीमा क्षति बेहोरेका किसानलाई अधिकतम ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको छ।

आज (बिहीवार) बसेको मन्त्रिपरिषद् बैठकले तोकिएको क्षेत्रफलका आधारमा साना, मध्यम र ठूला किसान वर्गीकरण गरी २० देखि ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको हो।

मन्त्रिपरिषद्ले गरेको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बढीमा १० कट्ठासम्म वा त्याेबराबरको जग्गामा लगाएको धानको पूर्ण क्षति बेहोरेका किसानलाई क्षतिको अधिकतम ६५ प्रतिशतसम्म क्षतिपूर्ति दिने निर्णय गरेको जानकारी दिनुभयो।

उहाँका अनुसार मध्यम किसान (१० कठ्ठादेखि तीन बिघा वा त्यस बराबरको जग्गा) मा क्षति बेहोरेका किसानलाई ३० प्रतिशत र तीन बिघाभन्दा बढी वा आंशिक क्षति भएकाको हकमा अधिकतम २० प्रतिशत राहत दिने निर्णय गरेको छ।

उहाँले नेपाल सरकारबाट न्यूनतम समर्थन मूल्य निर्धारण गरी त्याे राहत दिइने पनि जानकारी गराउनुभयो। त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा कार्यदल बनfउने र त्याे कार्यदलले पाँच दिनभित्र कार्यविधि बनाइ स्वीकृ्तिका लागि पेस गर्ने निर्णय पनि गरेको छ।


प्रतिक्रिया दिनुहोस