नमोबुद्धलाई मौरीपालनको पकेट क्षेत्र बनाउने घोषणा, यसै वर्ष ३ सय घार मौरी वितरण गर्ने लक्ष्य

नौलो समाचार संवाददाता
२०७८ कार्तिक १४, आईतबार मा प्रकाशित ६१६ पटक पढिएको
नमोबुद्धलाई मौरीपालनको पकेट क्षेत्र बनाउने घोषणा,  यसै वर्ष ३ सय घार मौरी वितरण गर्ने लक्ष्य

कात्तिक १४, काभ्रे। नमोबुद्ध नगरपालिकालाई मौरीपालनको पकेट क्षेत्रको रुपमा अघि बढाईने भएको छ। आज नमोबुद्ध वडा नं. ३ देउरालीमा आयोजित एक कार्यक्रममा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले नगरपालिकामा व्यवसायिकरुपमा मौरीपालनलाई प्राथमिकताका राख्दै पकेट क्षेत्रको रुपमा अघि बढाउने घोषणा गर्नुभएको हो।

नमोबुद्ध नगरपालिका वडा नं. ३ र ७ का किसानहरुले लामो समयदेखि मौरीपालन व्यवसाय गर्दै आइरहेका छन् । त्यसलाई थप प्रोत्साहित गर्न र मौरीपालनलाई थप व्यवसायिक बनाउन अब पकेट क्षेत्रको रुपमा विकास गर्दै लगिने नगर प्रमुख तिमल्सिनाले जानकारी दिनुभएको छ।

नगरपालिकाले व्यवसायिक मौरीपालन कार्यक्रमलाई सबै वडामा विस्तार गर्दै लैजाने योजना बनाएको छ । यो बर्ष पकेट क्षेत्रको रुपमा विकास गर्दै ३ सय घार मौरी वितरण गर्ने लक्ष्य राखिएको छ। कृषि, व्यापार र पर्यटन, हाम्रो सशक्त अभियान नारासहित नमोबुद्ध नगरपालिकाले नगरका विभिन्न वडालाई कृषि र पशुपालनको पकेट क्षेत्रको रुपमा विकास गर्दै लगेको छ । दाप्चा क्षेत्रलाई भैसीपालनको पकेट क्षेत्रको रुपमा विकास गर्न नगरपालिकाले अघिल्लो आर्थिक बर्षदेखि अनुदानमा पाडी वितरणको कार्य सुरु गरिसकेको छ ।

प्रदेशसभा सांसद गोमा भुर्तेलको प्रमुख आतिथ्यतामा भएको मौरीको घार कार्यक्रममा श्री टार साना किसान महिला सहकारी संस्थामार्फत गोलासहितको ८२ थान मौरीको घार वितरण वितरण गरिएको थियो। किसानलाई ५० प्रतिशत अनुदानमा घार वितरण गरिएको हो। नगरपालिकाले अघिल्लो आर्थिक बर्षमा पनि किसानहरुलाई गोलासहितको मौरीघार वितरण गरेको थियो।

कार्यक्रममा प्रदेशसभा सदस्य गोमा भुर्तेलले कृषि क्षेत्रको विकासबाटै नगरमा समृद्धि हासिल गर्न सकिने भन्दै किसानहरुलाई लक्षित गर्दै योजना कार्यक्रमहरु ल्याउनुपर्ने बताउनुभयो। कार्यक्रममा नमोबुद्ध नगरपालिकाका उपप्रमुख रामदेवी तामाङ, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, वडा नं. ३ का वडा अध्यक्ष रामशरण हुमागाईं, नमोबुद्ध नगरपालिका कृषि विकास शाखाका प्रमुख रेशम दाहाल लगायतले कृषि क्षेत्रबाटै नगरलाई आत्मनिर्भर गर्न विगतदेखि नै कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको बताउँदै आगामी दिनमा यसलाई थप प्रभावकारिताका साथ अघि बढाउने बताएका थिए।

कार्यक्रम श्री टार साना किसान महिला सहकारी संस्थाका अध्यक्ष इन्दिरा भुर्तेलको सभापतित्वमा सम्पन्न भएको थियो । नमोबुद्ध नगरपालिकाले मौरीपालनको पकेट क्षेत्रको रुपमा विकास गरेर अन्य जिल्लामा पनि मौरीको गोला निर्यात गर्ने लक्ष्य राखेको छ । अहिले बाहिरी जिल्लाबाट गोला ल्याएर किसानलाई वितरण गर्नुपर्ने अवस्था रहेको कृषि विकास शाखा प्रमुख रेशम दाहालले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस