कात्तिक १७, काभ्रे। देशभर एकै साथ सुरु भएको गणकहरुको तालिम काभ्रेमा पनि सम्पन्न भएको छ। स्थानीय जनगणना कार्यालय पनौती नगरपालिका, धुलिखेल, पाँचखाल,नमोबुद्ध, रोशी गाउँपालिका, भुम्लुमा गणकहरुको लागि ४ दिने जनगणना तालिम सम्पन्न भएको हो।
मुख्य गणनाका लागि यहि कात्तिक १३ गतेबाट देशभर सुरु गरिएको गणकहरुको तालिम आज (मंगलबार) सम्पन्न भएको छ।
‘मेरो गणना, मेरो सहभागिता’ भन्ने मूल नाराका साथ राष्ट्रिय जनगणना २०७८ सुरु भएको छ। केन्द्रीय तथ्यांक विभागले देशभरका जिल्ला जनगणना कार्यालयको नेतृत्वमा सबै स्थानीय तहमा एक साथ राष्ट्रिय जनगणना सुरु गरेको हो। यो १२औं राष्ट्रिय जनगणना हो।
काभ्रेमा घर तथा घरपरिवार सूचिकरणका लागि १ सय २७ जना सुपरिवेक्षक खटाइएका थिए। उनीहरुले असोज १८ गतेसम्म सूचिकरण सम्पन्न गरेका छन्।
अब कात्तिक २५ गतेबाट मुख्य जनगणना कार्यका लागि जिल्लामा ५ सय ९ जना गणक खटाइएको जिल्ला जनगणना कार्यालय धुलिखेलले जानेको छ।
‘मेरो गणना, मेरो सहभागिता’ भन्ने मूल नाराका साथ सुरु भएको जनगणनामा सहभागी हुन केन्द्रिय तथ्यांक विभागले सबैलाई आह्वान गरेको छ ।
केन्द्रिय तथ्यांक विभागले यही कात्तिक २५ गतदेखि मंसीर ९ गतेसम्म मुख्य गणनाको काम सुरु गर्दैछ। सोही गणनाका लागि गणकहरुको तालिम गरिएको केन्द्रिय तथ्यांक विभागले जनाएको छ।
राष्ट्रिय जनगणनाका निम्ति तयार पारेको प्रश्नावली लिएर देशभरि ८ हजार ५ सय सुपरिवेक्षक खटाइएका थिए। उनीहरुले असोज १८ गतेसम्म घर तथा घरपरिवार सूचिकरण सम्पन्न गरेका छन्।
मुख्य जनगणना कार्यका निम्ति करिब ४० हजार गणक थपिने छन् भने सुपरिवेक्षक र कर्मचारीसमेत साथै रहने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस