चिसो बढ्दै, काठमाडौंको तापक्रम माइनसमा पुग्ने अनुमान

नौलो समाचार संवाददाता
२०७८ कार्तिक २३, मंगलबार मा प्रकाशित ७४८ पटक पढिएको
चिसो बढ्दै, काठमाडौंको तापक्रम माइनसमा पुग्ने अनुमान

कात्तिक २३, काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले चिसो बढ्दै गएकोले सतर्क रहन आग्रह गरेको छ ।

महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जाडो मौसम सुरु भएसँगै चिसो बढ्दै गएकोले चिसोबाट बच्न सतर्क रहनुपर्ने बताउनुभएको हो।

उहाँले उपत्यकासहित देशभर चिसो बढ्दै गएको बताउनुभयो । वरिष्ठ मौसमविद् पौडेलका अनुसार पछिल्लो १० दिनमा काठमाडौंको तापक्रम १७ बाट ८ डिग्री सेल्सियससम्म झरेको बताउनुभयो ।

उहाँले कात्तिकमै जुम्लाको तापक्रम शुन्य डिग्रीभन्दा तल झरेको जानकारी दिनुभयो । आगामी दिनमा काठमाडौं उपत्यकाको तापक्रम घटेर शुन्य भन्दा तल पुग्ने महाशाखाको अनुमान रहेको उहाँको भनाइ छ ।

वरिष्ठ मौसमविद् पौडेलले भारत र चीनमा पनि प्रदुषण बढिरहेकोले नेपालमा पनि जाडो याममा मुख्य शहरहरुमा प्रदुषण बढ्न सक्ने बताउनुभयो । उहाँले लामो समयसम्म खडेरी भएमा प्रदूषण वायु मण्डल नजिकै बस्ने र हावा नचल्ने भएकोले काठमाडौंलगायत वीरगञ्ज, धनगढी, नेपालगञ्ज, र जनकपुर जस्ता शहरहरुमा आगामी दिनमा प्रदुषण बढ्ने बताउनुभयो ।

वरिष्ठ मौसमविद् पौडेलले प्रदुषणबाट बच्न स्थानीय, प्रदेश र केन्द्र सरकारले अहिलेदेखि नै तयारीमा लागेर जनधनको क्षति हुन नदिने तर्फ लाग्नुपर्ने बताउनुभयो । उहाँले जाडोलाई मध्यनजर गर्दै त्यसबाट बच्नका लागि सरकारले तयारी थाल्नु पर्ने बताउनुभयो ।

पौडेलले जाडो याममा बढी नै प्रदुषण हुने भन्दै घरबाट ननिस्किन, मर्निङ वाकमा नजान र बालबालिका, वृद्धवृद्धालाई चिसोबाट बचाउने उपायहरु अपनाउनु पर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस