मारुती, युनाइटेड र जगदम्बा सिमेन्ट गुणस्तरहीन, बजारमा विक्रि वितरण गर्न रोक

बजारबाट फिर्ता गरी स्पष्टीकरण पेश गर्न १५ दिनको म्याद
नौलो समाचार संवाददाता
२०७८ मंसिर २, बिहिबार मा प्रकाशित ९१२ पटक पढिएको
मारुती, युनाइटेड र जगदम्बा सिमेन्ट गुणस्तरहीन, बजारमा विक्रि वितरण गर्न रोक

मंसिर २, काठमाडौं। सरकारले ३ वटा सिमेन्ट कम्पनीको उत्पादनलाई बजारमा विक्रि वितरण गर्न रोक लगाएको छ ।

गुणस्तर तथा नापतौल विभागले कमजोर गुणस्तर भएको पाएपछि मारुती सिमेन्ट लिमिटेड, युनाइटेड सिमेन्ट प्रा.लि र जगदम्बा सिमेन्ट प्रा.लिद्धारा उत्पादित सिमेन्टलाई विक्रिवितरणका लागि रोक लगाएको हो ।

त्यस्तै बजारमा गएका सिमेन्टहरु फिर्ता गर्न र १५ दिनभित्र स्पष्टीकरण दिनको लागि निर्देशन दिएको छ ।

विभागका सुचना अधिकारी संजीवकुमार ठाकुरका अनुसार ती तिनवटै कम्पनीमा केही दिनअघि विभागले अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा संकलन गरिएको नमुनाको गुणस्तर मापन गर्दा मारुती सिमेन्टको ७ र २८ दिनको मान क्रमशः ३१ र ३८ एमपिए रहेको पाइएको छ । विभागका अनुसार ति दिनहरुको मान क्रमशः ३३ र ४३ हुनुपर्ने थियो ।

त्यस्तै युनाइटेड सिमेन्टको सोही दिनको मान ३५ र ३९ रहेको थियो जवकी सो सिमेन्टको मान ३७ र ५३ एमपिए हुनुपर्ने थियो ।

मारुती र युनाइटेड सिमेन्ट भने ओपीसी हो । त्यस्तै त्यस्तै जगदम्बा सिमेन्टको भने ३ र ७ दिनको मान १६ र २२ हुनुपर्नेमा १५ र २० एमपीए रहेको पाइएको विभागले जनाएको छ। सो सिमेन्ट भने पीपीसी रहेको विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस