कोरोनाले मृत्यु भएका १० स्वास्थ्यकर्मीका परिवारले पाए बीमा बापत २५ लाख

नौलो समाचार संवाददाता
२०७८ मंसिर ३, शुक्रबार मा प्रकाशित ८२४ पटक पढिएको
कोरोनाले मृत्यु भएका १० स्वास्थ्यकर्मीका परिवारले पाए बीमा बापत २५ लाख

मंसिर ३, काठमाडौं। कोरोना नियन्त्रण र उपचारमा संलग्न रहेका समयमा संक्रमण भई मृत्यु भएका १० जना स्वास्थ्यकर्मीका परिवारले कोरोना बीमा वापत्को २५ लाख रकम पाएका छन्। हालसम्म देशभर ४२ स्वास्थ्यकर्मीले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार हालसम्म देशभर ९ हजार ५८० जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भइसकेका छन्। जसमध्ये ४२ जनाको मृत्यु भएको छ।

उनका अनुसार प्रदेश १ मा एक हजार २९८ स्वास्थ्यकर्मी संक्रमित भएका छन् भने ५ जनाको मृत्यु भएको छ। प्रदेश २ मा ५४३ जना संक्रमित भएका छन् भने ११ जनाको मृत्यु भएको छ। बागमती प्रदेशमा ५ हजार ९५५ संक्रमित भएकामध्ये १३ जनाले ज्यान गुमाएका छन्।

गण्डकी प्रदेशमा ३८४ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् भने १ जनाको मृत्यु भएको छ। लुम्बिनीमा ८२६ संक्रमितमध्ये ८ जनाको मृत्यु भएको छ।

त्यसैगरी कर्णाली प्रदेशमा ३१८ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् भने २ जनाको मृत्यु र सुदूरपश्चिम प्रदेशमा २५६ संक्रमित मध्ये २ जना स्वास्थ्यकर्मीले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण भई मृत्यु भएका स्वास्थ्यकर्मीका परिवारले दिएको निवेदनका आधारमा उनीहरुलाई बीमा वापतको उक्त रकम उपलब्ध गराएको हो।

मन्त्री परिषद्को २०७७ भदौ २९ गतेको बैठकले २०७७ साउन १ गतेदेखि कोरोना अवधिभर लागू हुने कोभिड-१९ को रोकथाम, नियन्त्रण तथा उपचारमा प्रत्यक्ष रुपमा संलग्न हुने चिकित्सक, नर्स,स्वास्थ्य प्राविधिक, महिला स्वास्थ्य स्वयम्सेविका, स्वयंसेवक तथा सरसफाईमा संलग्न हुने श्रमिक, शब व्यवस्थापनमा संलग्न जनशक्ति,एम्बुलेन्स चालक, प्रत्यक्ष संलग्न हुने सुरक्षाकर्मी र कर्मचारीहरुलाई २५ लाखको नि:शुल्क बीमा/क्षतिपूर्ति प्रदान गर्ने निर्णय गरेको छ।

स्वास्थ्य मन्त्रालयले बीमाका लागि मन्त्रालयमा आएका सबै निवेदकहरुले बीमा रकम पाइसकेको छ। थप निवेदन आउने क्रम पनि जारी रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस