काभ्रेमा मंसिर १७ गतेबाट फोटोसहितको मतदाता नामावली संकलन हुने

नौलो समाचार संवाददाता
२०७८ मंसिर १५, बुधबार मा प्रकाशित ४४६ पटक पढिएको

काभ्रेमा मंसिर १७ गतेबाट फोटोसहितको मतदाता नामावली संकलन हुने

मंसिर १५, काभ्रे। काभ्रेमा यहि मंसिर १७ गतेबाट फोटो सहितको मतदाता नामावली संकलन सुरु हुने भएको छ।

जिल्ला निर्वाचन कार्यालय काभ्रेले धुलिखेलमा राजनीतिक दल, पत्रकार एवं सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी गराएको हो ।

पुस ८ सम्म दुई चरणमा पालिका केन्द्रमा नामावली संकलन गरिने जिल्ला निर्वाचन अधिकारी उमेश कुमार राईले जानकारी दिनुभयो । पहिलो चरणमा मंसिर १७ गतेदेखी मंसिर २६ गतेसम्म बनेपा नगरपालिका, पनौती नगरपालिका, पाँचखाल नगरपालिका तथा खानीखोला गाउँपालिका, बेथानचोक गाउँपालिका र रोशी गाउँपालिकाको केन्द्रमा मतदाता नामावली संकलन हुनेछ ।

यस्तै दोस्रो चरणमा मंसिर २८ गतेदेखी पुस ८ गतेसम्म मण्डनदेउपुर नगरपालिका, नमोवुद्ध नगरपालिका, चौरीदेउराली गाउँपालिका, तेमाल गाउँपालिका, भुम्लु गाउँपालिका र महाभारत गाउँपालिकामा यसअघि छुटेका तथा नयाँ नाम थप्नेहरुको नामावली संकलन हुनेछ ।

धुलिखेल नगरपालिकामा भने जिल्ला निर्वाचन कार्यालय नजिकै रहेकाले जिल्ला निर्वाचन कार्यालयले नै समेट्ने निर्वाचन अधिकारी राइले बताउनुभयो ।

काभ्रेमा २ लाख ९५ हजार ५ सय ७२ जना मतदाता रहेका छन् । यसअघि २०७४ सालमा भएको निर्वाचनमा काभ्रेमा २ लाख ७२ हजार २ सय ९२ जना मतदाता थिए । अहिले उक्त संख्यामा २३ हजार २ सय ८० जना थपिएका छन । २०७४ को निर्वाचनमा भन्दा अहिले ८ दशमलव ५ प्रतिशत मतदाता थपिएका हुन ।


प्रतिक्रिया दिनुहोस