पनौती-६ दलिन्चोकमा आधारभुत स्वास्थ्य केन्द्र भवनको उद्घाटन

नौलो समाचार संवाददाता
२०७८ मंसिर १६, बिहिबार मा प्रकाशित ९१० पटक पढिएको
पनौती-६ दलिन्चोकमा आधारभुत स्वास्थ्य केन्द्र भवनको उद्घाटन

मंसिर १६, काभ्रे। पनौती नगरपालिका वडा नम्बर-६ दलिन्चोकमा निर्माण गरिएको आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको छ। नगरपालिकाका उप-प्रमुख गीता बन्जाराले उक्त स्वास्थ्य केन्द्र भवनको उद्घाटन गर्नुभएको हो।

नेपाल सरकार, संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको जम्माजम्मी ५२ लाख भन्दा बढीको लागतमा उक्त स्वास्थ्य केन्द्र भवन निर्माण भएको पनौती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाले जानकारी दिनुभयो।

कार्यक्रममा बोल्दै नगरपालिकाका उप-प्रमुख गीता बन्जाराले आधारभुत स्वास्थ्य केन्द्रबाट वडावासी तथा आम नागरिकले स्वास्थ्य उपचारमा अझ सहजता महसुस गर्ने बताउदै आगामी दिनमा स्वास्थ्य केन्द्रमा आवश्यक पर्ने सहयोगका लागि पनौती नगरपालिका तयार रहेको बताउनुभयो।

वडा नम्बर-६ का वडा अध्यक्ष सुधिर सापकोटाको सभापतित्वमा आयोजित कार्यक्रममा पनौती नगरपालिकाका प्रमुख वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारी, स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनालगायतले भवन निर्माण प्रति खुसि व्यक्त गर्दै वडा नम्बर-६ का वडाध्यक्ष सुधिर सापकोटाको सक्रियता र पहलमा स्वास्थ्य केन्द्र निर्माण हुन सकेको उल्लेख गर्नुभयो।

कार्यक्रममा स्थानीय विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, स्थानीय जनप्रतिनिधिहरु, नगर क्षेत्रका स्वास्थ्यकर्मीहरु, महिला स्वयम् सेविकाहरु तथा स्थानियहरुको उपस्थिति रहेको थियो।

आधारभुत स्वास्थ्य केन्द्रमा हाल दुई जना अहेव र अनमी तहका कर्मचारीले सेवा दिइरहेका छन्। निकट भविष्यमा नै कर्मचारी थप गरी प्रदान गर्ने स्वास्थ्य शाखा प्रमुख तिमल्सिनाले जानकारी दिनुभयो।

स्वास्थ्य केन्द्रमा शुरक्षित मातृत्वका कार्यक्रमहरु, खोप कार्यक्रमहरु, बाल पोषणका कार्यक्रमहरु, नेपाल सरकारबाट नि:शुल्क रुपमा प्राप्त औषधीहरु तथा प्राथमिक चरणका सबै उपचार सेवा पाउन सकिने वडा नम्बर-६ का वडा अध्यक्ष सुधिर सापकोटाले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस