३ देखि ६ महिनाभित्र बुस्टर डोज लगाउने व्यवस्था गरिने: स्वास्थ्यमन्त्री खतिवडा

नौलो समाचार संवाददाता
२०७८ मंसिर १९, आईतबार मा प्रकाशित ६६५ पटक पढिएको
३ देखि ६ महिनाभित्र बुस्टर डोज लगाउने व्यवस्था गरिने: स्वास्थ्यमन्त्री खतिवडा

मंसिर १९, काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कोरोनाविरुद्धको दुई डोज लगाइसकेका नागरिकहरुलाई बुस्टर डोज लगाउन आग्रह गर्नुभएको छ।

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको आइतबार सिंहदरवारमा बसेको बैठकमा मन्त्री खतिवडाले कोरोनाविरुद्धको दुई डोज लगाइसकेका नागरिकहरुलाई बुस्टर डोज लगाउन आग्रह गर्नुभएको हो।

उहाँले कोरोनाविरुद्धको नयाँ प्रकार ओमिक्रोन आएसँगै तेस्रो डोज लगाउने कुराले चर्चा पाएको बताउँदै विश्व स्वास्थ्य संगठनले पनि तेस्रो डोज खोप लगाउन आग्रह गरेको बताउनुभयो। उहाँले प्रतिरोधात्मक क्षमता कम भएकाहरुले ३ देखि ६ महिनाभित्रमा तेस्रो मात्राको खोप लगाउने व्यवस्था मिलाउने गरी सरकार प्रदेश र जिल्लागत तहमा व्यवस्थापनमा लागिरहेको बताउनुभयो।

मन्त्री खतिवडाले भन्नुभयो, ‘बुस्टर डोजसँग गाँसिएका कुराहरु आए। यसको नाम बुस्टर भनिए पनि जे भनिए पनि यो तेस्रो डोजको नाम बुस्टर डोज भनियो। ओमिक्रोन आएपछि यसको चर्चा अलि बढी हुन थाल्यो र समाजमा के कुरा गएको छ भन्दा तेस्रो डोज लियो भने अझ सुरक्षित छ भन्ने छ। प्रतिरोधात्मक क्षमता कम भएकाहरुले तीनदेखि ६ महिनाभित्र लगाउँदा राम्रो भन्ने विश्व स्वास्थ्य संगठनको निर्देशन छ। सरकारी संयन्त्रलाई मिलाएर बुस्टर डोज दिने भन्ने कुरा मन्त्रिपरिषद्को बैठकमा प्रदेश हुँदै जिल्ला तहसम्म दिने भइसकेको छ।’

मन्त्री खतिवडाले कोरोनाविरुद्धको नयाँ प्रकार ओमिक्रोनबाट बच्न सरकारले हालसम्म लगभग १० वटा देशलाई प्रतिबन्ध लगाएको बताउनुभयो। उहाँले अन्य देशबाट आउने नागरिकहरुलाई पनि क्वारेन्टाइनमा राखिने र उनीहरुको पीसीआर परीक्षण गरेर मात्रै घर जान दिने बताउनुभयो।

बैठकमा समितिका सदस्य योगेश भट्टराईले नयाँ भेरियन्टबाट बच्न शतर्कता अपनाउनु पर्ने बताउनुभयो। उहाँले कोरोनाको नयाँ भेरियन्ट आएमा लकडाउन बाहेकको विकल्प सोच्नुपर्ने बताउँदै सदस्य भट्टराईले भन्नुभयो, ‘कोरोनाको नयाँ भेरियन्टबाट बच्न नाकामा शतर्कता अपनाउनु पर्छ, लकडाउनभन्दा पनि अन्य विकल्प के हुनसक्छ, त्यसमा ध्यान दिन आवश्यक छ।’

बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले कोरोना भाइरसको नयाँ भेरियन्टबारे विश्वले चासो देखाइरहेको भन्दै स्वास्थ्य सावधानी अपनाउन आग्रह गर्नुभयो। उहाँले ओमिक्रोनको अध्ययन हुने क्रम जारी रहेकोले अध्ययनपछि यसबारेमा जानकारी गराउने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस