काभ्रे आएर मुख्यमन्त्री पाण्डेले भने: ‘सरकारको कामलाई चलायमान बनाउन मन्त्रालय थपियो’

नौलो समाचार संवाददाता
२०७८ मंसिर २१, मंगलबार मा प्रकाशित ५२९ पटक पढिएको
काभ्रे आएर मुख्यमन्त्री पाण्डेले भने: ‘सरकारको कामलाई चलायमान बनाउन मन्त्रालय थपियो’

मंसिर २१, काभ्रे। सत्ता गठबन्धनमा भागबन्डा नमिलेपछि मन्त्रालय फुटाएको भन्दै आलोचना भइरहँदा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले त्यसको बचाउ गर्नुभएको छ । बागमती प्रदेश सरकारले आठ मन्त्रालयलाई फुटाएर १४ मन्त्रालय बनाएको भन्दै व्यापक आलोचना भइरहेको छ ।

काभ्रेको धुलिखेलमा नेपाल व्यवसायिक बाख्रा पालन महासंघ काभ्रेको प्रथम जिल्ला भेलाको कार्यक्रममा मुख्यमन्त्री पाण्डेले सरकारको कामलाई चलायमान बनाउन मन्त्रालय थप्नु परेको दाबी गर्नुभयो। सरकारले सन्तुलन विकासका लागि मन्त्रालय थपेको बताउदै उहाँले यसले विकासको सन्तुलनलाई कायम गराउन मद्त गर्छ भन्ने विश्वास लिएको धारणा व्यक्त गर्नुभयो।

सरकारले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय बनाएको छ । त्यस्तै भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय फुटाएर कृषि तथा पशुपक्षी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय बनाएको छ ।
सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय बनाएको छ भने सरकारले सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय र सामाजिक विकास मन्त्रालय बनाइएको छ ।

कार्यक्रममा बागमती प्रदेशका सांसद बसुन्धरा हुमागाई, भेटनरी अस्पताल तथा विज्ञ केन्द्र काभ्रेका प्रमुख मोगलप्रसाद शाह, राजकुमार हुमागाई, नेपाल व्यवसायिक बाख्रा पालन महासंघका उपाध्यक्ष गोविन्द सुवेदी, महासचिव अमृत तिवारी, कोषाध्यक्ष दीपक गौतम, रामेछापका सचिव नवराज खड्का लगायतले सरकारले ध्यान नदिदाँ किसानले बीमा, सहुलियत, अनुदान लगायतमा समस्या झल्नुपरेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस