नेपाली काँग्रेसको सभापतिमा शेरबहादुर देउवा पुनः निर्वाचित, देउवाको पक्षमा २७३३ मत

नौलो समाचार संवाददाता
२०७८ मंसिर २९, बुधबार मा प्रकाशित ५३२ पटक पढिएको
नेपाली काँग्रेसको सभापतिमा शेरबहादुर देउवा पुनः निर्वाचित, देउवाको पक्षमा २७३३ मत
फाइल तस्विर

मंसिर २८, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली काँग्रेसको सभापतिमा पुनः निर्वाचित हुनुभएको छ ।

काठमाडौंमा जारी १४ औं महाधिवेशन अन्तर्गत सभापति पदका लागि मंगलवार भएको दोस्रो चरणको मतदानमा २७३३ मत ल्याएर देउवा सभापतिमा निर्वाचित हुनुभएको हो । काग्रेस सभापति देउवा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी शेखर कोइरालाले १८५५ मत पाउनुभएको छ ।

दिउँसो साढे ३ बजेबाट सुरु भएको दोस्रो चरणको मतदान राति साढे ९ बजे सकिएको थियो । मध्यरातमा शुरु भएको मतगणनामा देउवा निर्वाचित हुनुभएको हो ।

पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदानमा गएको हो । दोस्रो चरणको मतदानमा कांग्रेसमा सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइराला चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । दोस्रो चरणको मतदानमा चार हजार ५६२ मत मात्र खसेको थियो । यो पहिलो चरणको मतदानभन्दा ११७ मत कम हो । पहिलो चरणमा सभापतिको उम्मेदवार रहेका प्रकाशमान सिंह, विमलेन्द्र निधि र किरण गुरुङ तीनैजनाले दोस्रो चरणको मतदानमा देउवालाई समर्थन गर्नुभएको थियो ।

सोमवार भएको निर्वाचनको मत गणना विहीवारबाट शुरु गर्ने निर्णय भएको केन्द्रीय निर्वाचन कमिटिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस