(नेभ्ला) काभ्रेमा आबद्ध सबै प्राविधिकहरुको जीवन बीमा, प्राविधिकहरुलाई तालिम:- नव-निर्वाचितअध्यक्ष सापकोटा (अन्तर्वार्ता)

नौलो समाचार संवाददाता
२०७८ पौष ५, सोमबार मा प्रकाशित १३३९ पटक पढिएको
(नेभ्ला) काभ्रेमा आबद्ध सबै प्राविधिकहरुको जीवन बीमा, प्राविधिकहरुलाई तालिम:- नव-निर्वाचितअध्यक्ष सापकोटा (अन्तर्वार्ता)

पुस ५, काभ्रे। नेपाल पाराभेटेरिनरी एन्ड लाइभस्टक एशोसियसन नेपाल (नेभ्ला) काभ्रे शाखाको १०औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा कृष्णप्रसाद सापकोटा पुनः निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धुलिखेलमा सम्पन्न अधिवेशनले उहाँ सहित नयाँ ११ सदस्यीय कार्यसमिति गठन गरेको छ। जसको उपाध्यक्षमा भोजराज पन्त, सचिवमा इन्द्र चिमोरिया, कोषाध्यक्षमा राम बहादुर लामा, र सदस्य हरुमा निर्मला दनुवार, विजय थापा, चुडामणि ढकाल (राजु), तारामान तामाङ, राजकुमार श्रेष्ठ, उमेश घिमिरे र सौगात रानामगर निर्बिरोध निर्वाचित हुनुभएको छ। यस्तै केन्द्रीय प्रतिनिधिमा मणिप्रसाद सापकोटा, लिला सापकोटा, रामप्रसाद दाहाल, कान्ता तोलाङ्गे, शिव तिवारी, उद्धव सापकोटा र सागर सापकोटा हुनुहुन्छ।

दोस्रो कार्यकालका लागि निर्बिरोध निर्वाचित (नेभ्ला) काभ्रे शाखा अध्यक्ष कृष्णप्रसाद सापकोटासगं हामीले थप कुराकानी गरेका छौ।

नेपाल पाराभेटेरिनरी एन्ड लाइभस्टक एशोसियसन नेपाल (नेभ्ला) काभ्रेको दोस्रो कार्यकालका लागि निर्विरोध अध्यक्ष हुनुभएको छ, के कस्ता योजना बनाउनुभएको छ ?

(नेभ्ला) काभ्रेमा आबद्ध सबै प्राविधिकहरुको जीवन बीमा गर्ने, स्थानीय तहमा रहेको नेभ्लाको समितिहरुमा थोरै रकम भएपनि कोषको व्यवस्थापन गर्ने, कृत्रिम गर्भाधान गरिरहेका तर तालिम लिन बाँकी प्राविधिक साथीहरुलाई तालिम सञ्चालनका लागि सम्बन्धित निकायमा समन्वय गर्ने, ग्रामीण क्षेत्रमा पशु स्वास्थ्य शिविर सञ्चालन गर्ने, नेभ्ला र अन्य संघसंस्थासँग समन्वय गरेर व्यवसायिक किसानहरुलाई तालिमको व्यवस्थापन गर्ने, कार्यालय व्यवस्थापन गर्ने, समय समयमा विषय विज्ञसँग फिल्डमा आइपरेका समस्याहरुको बारेमा अन्तरक्रिया  कार्यक्रम गर्ने योजना रहेको छ।

नेभ्ला भन्ने बितिकै आम सर्वसाधारणले कस्तो संस्था भनेर बुझ्न सक्छन् ?

पशुपन्छीसँग सम्बन्धित जे.टि/जे.टि.ए प्राविधिकहरुको पेशागत संगठन हो । यसको स्थापना २०४७ सालमा भएको र हाल यो ७७ वटै जिल्लामा समितिहरु रहेको छ भने लगभग ४० हजारको हाराहारीमा देशभर यस संस्थामा प्राविधिकहरु आबद्ध छन् । काभ्रे जिल्लामा नवौं जिल्ला अधिवेशन हुँदासम्म १५२ जना सदस्यहरु थिए भने दशौं जिल्ला अधिवेशनमा २७ जना थप भएका छन् ।

स्थानीय तहसँग नेभ्लाको समन्वय/साझेदारी कसरी अगाडि बढाउनुभएको छ ?

स्थानीय तहमा पशु स्वास्थ्य शिविर तथा पशुपन्छी तालिमका बारेमा समन्वय गरी काम गरिरहेका छौं भने नेभ्लामा आबद्ध प्राविधिकहरु पनि स्थानीय तहको कृषि तथा पशुपन्छी शाखामा कार्यरत हुनुहुन्छ ।

नेभ्लाले पशु स्वास्थ्य र भेटेरिनरी बाहेक अन्य के कस्ता कार्यक्रम गर्ने गर्दछ ?

पशु स्वास्थ्य/भेटेरिनरी मात्र नभई अन्य सामाजिक कार्य जस्तै रक्तदान, उद्घोषण, लोकसेवा तयारी कक्षा जस्ता अन्य कार्यक्रम पनि गर्दछ।

नेभ्लाको दोस्रो कार्यकाल सफल बनाउन तपाईंको नेतृत्वको टिम सफल होला त ?

विगतको समितिबाट दुई जना मात्रै र अन्य ९ जना साथीहरु नयाँ निर्वाचित हुनुभएको छ, उहाँहरु विभिन्न कार्यालयमा कार्यरत हुनुहुन्छ। विगतमा भन्दा अझै धेरै राम्रा काम गर्न सकिन्छ भन्नेमा म विश्वस्त छु ।

अन्त्यमा ?
दशौं जिल्ला अधिवेशनबाट भर्खरै निर्वाचित नेभ्लाको अध्यक्षको हैसियतमा हाम्रो संस्थाको बारेमा विचारहरु राख्ने अवसर दिनुभएकोमा धेरै-धेरै धन्यवाद ।

प्रतिक्रिया दिनुहोस