सवारीसाधनको भार मापन गर्न पनौती, पाँचखाल र भकुण्डेमा ‘तौल पुल’ स्थापना

नौलो समाचार संवाददाता
२०७८ पौष १६, शुक्रबार मा प्रकाशित १०९४ पटक पढिएको

सवारीसाधनको भार मापन गर्न पनौती, पाँचखाल र भकुण्डेमा ‘तौल पुल’ स्थापना

पुस १६, काभ्रे। काभ्रे जिल्लाका तीन स्थानमा एकै दिन तीनवटा तौलपुल सञ्चालनमा ल्याइएको छ । पनौती, पाँचखाल र भकुण्डे गरी ३ स्थानमा ‘तौल पुल’ स्थापना गरिएको हो। पनौती सडकको नैकिनटार, अरनिको राजमार्गको केराघारी र बीपी राजमार्गको भकुन्डेवेशी जिल्लामा नै पहिलोपटक तौलपुल स्थापना गरिएको हो।

जिल्लाको पनौती नगरपालिका स्थित नैकिनटार र पाँचखाल नगरपालिका स्थित केराघारीमा ग्लोबल मेसिनरी एन्ड टेक्नोलोजी सर्भिसेज प्रा.लिद्वारा ‘तौल पुल’ सञ्चालनमा ल्याइएको हो । त्यस्तै नमोबुद्ध नगरपालिका स्थित भकुण्डेमा कोट कालिका मेसिनरी एन्ड टेक्नोलोजी सर्भिसेज प्रा.लिद्वारा सञ्चालनमा ल्याइएको हो ।

पनौतीको नैकिन्टारमा स्थापना गरिएको तौलपुलको पनौती नगरपालिका प्रमुख भीम न्यौपाने, पाँचखालको केराघारीमा स्थापना गरिएको तौलपुलको पाँचखाल नगरपालिका प्रमुख महेश खरेल र भकुण्डेमा स्थापना गरिएको तौलपुलको नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले उद्घाटन गर्नुभएको हो।

पनौती नैकिनटारमा ‘तौल पुल’ उद्घाटन गर्दै नगर प्रमुख न्यौपानेले मालवाहक साधनले क्षमताभन्दा बढी भार बोक्दा सडक जीर्ण भएको र  दुर्घटना बढेको उल्लेख गर्दै तौलपुल सञ्चालनमा आएपछि दुर्घटना न्यूनिकरण गर्न मद्दत पुग्ने बताउनुभयो।

यस्तै, भकुण्डेबेशीको तौलपुलको उद्घाटन गर्दै नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले विपी राजमार्गमा हुने दुर्घटना न्यूनिकरण तथा राजमार्गमा बढी भारका कारण हुने क्षति रोकथामका लागि तौलपुलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो।

मालवाहक सवारी साधनको भारवहन नियमनसम्बन्धी निर्देशिका २०७४ (संशोधित) को व्यवस्थाअनुसार अनिवार्य रूपमा मालवाहक सवारीसाधनको भार मापन गर्नुपर्ने प्रावधान रहेको छ । सोही अनुसार विभागको अनुमतिमा तौलपुल सञ्चालनमा ल्याइएको छ ।


प्रतिक्रिया दिनुहोस