न्यूयोर्कमा राजेश पायल राईमाथि यसरी भयो हातपात, मञ्चमै घम्साघम्सी

नौलो समाचार संवाददाता
२०७८ पौष १८, आईतबार मा प्रकाशित ६९६ पटक पढिएको
न्यूयोर्कमा राजेश पायल राईमाथि यसरी भयो हातपात, मञ्चमै घम्साघम्सी

पुस १८, न्यूयोर्क। अमेरिकाको न्यूयोर्कमा स्टेजमा गीत गाउँदा गाउँदै चर्चित नेपाली गायक राजेश पायल राईमाथि आक्रमण भएको छ। गीत गाउँदा गाउँदै स्टेजमा पुगेका एकजना व्यक्तिले गायक राईको घाँटी समातेर बेस्सरी तानेका थिए।

गायक राईमाथि न्यूयोर्कमा भएको यो हमला यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल भएको छ। डिसेम्बर ३१ तारिक साँझ न्यूयोर्कको क्विन्स प्यालेसमा आयोजित सो कार्यक्रममा गीत गाउँदा गाउँदै एक्कासि आक्रमणमा परेका गायक राईले स्टेजमै आक्रमणकारीको प्रतिरोध गरेका थिए।

पछाडिको लागि ३० र अगाडिको लागि ४० डलरको टिकट काटेरमात्र कार्यक्रममा प्रवेश पाइने व्यबस्था मिलाइएको थियो। हलमा खचाखच संगीतप्रेमी नेपालीहरुको भीड पनि देखिएको थियो। यही भिडभित्रैबाट एकजना व्यक्ति स्टेज चढेको र सरासर गायक राईको घाटी सामात्न पुगेका थिए।

त्यसपछि भएको तानातानमा गायक राई झण्डै स्टेजमै लडेका थिए तर उनी सम्हालिए। यो दृश्य देख्नासाथ आयोजकका केही व्यक्ति स्टेजमा पुगेर आक्रमणकारीलाई गायक राईबाट छुटाएर हातपात गर्दै बाहिर लगेको र केहीबेर हलभित्र ठूलो होहल्लासमेत भएको थियो।

उनलाई हात पात गर्ने व्यक्तिले के उद्देश्यले हात पात गरेका हुन् भन्ने कुरा अझै स्पष्ट भएको छैन। उनी न्यूयोर्क निवासी पाशाङ दावा लामा नाम गरेका व्यक्ति भएको खुलेको छ। ज्याक्सन हाइटको एउटा टिवेटियन रेष्टुराँमा कार्यरत लामाले गायक राईको के कुरा चित्त बुझएनन् र स्टेजमै पुगेर घाँटी समाउन पुगेका हुन् भन्ने स्पष्ट भएको छैन।

यसबारे स्थानीय प्रहरीलाई हालसम्म कसैले उजुर नगरेको बताइएको छ। आयोजकहरुले त्यस्तो कुनै घटनै नभएको भन्दै घटनालाई अस्वीकार गर्दै आएका छन्। नेपालका बरिष्ठ गायकलाई बोलाएर कार्यक्रम गरी सुरक्षाको उचित प्रबन्ध गर्न नसकेकोमा आयोजकको व्यापक आलोचना भइरहेको छ।

कार्यक्रमको मुख्य आयोजक बुद्ध ट्याक्स न्यूयोर्क रहेको कार्यक्रममा गरिएको प्रचार सामग्रीमा देखिएको छ। आक्रमणपछि एकछिन होहल्ला भए पनि गायक राई आफ्नो प्रस्तुतिलाई पुन अघि बढाएका थिए।

प्रतिक्रिया दिनुहोस