फेरि हिउँदे वर्षा सुरु, ‘अबका चार दिन सचेत रहाैँ’

नौलो समाचार संवाददाता
२०७८ पौष २१, बुधबार मा प्रकाशित १०११ पटक पढिएको
फेरि हिउँदे वर्षा सुरु, ‘अबका चार दिन सचेत रहाैँ’

पुस २१, काठमाडौं। नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण फेरि हिउँदे वर्षा सुरु भएको छ ।

आज राति देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि रहेको मौसमविद् सजिना शाक्यले बताउनुभयो । भोलिदेखि भने पश्चिमी न्यूनचापीय प्रणाली देशभर फैलिने र आउने शनिवारसम्म नै वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । आइतवारदेखि भने मौसम क्रमिक रूपमा सुधार हुँदै जानेछ ।

देशको पश्चिमी क्षेत्र हुँदै भित्रिएको प्रणालीले आज बुधवार दिपायलमा सामान्य वर्षा भएको र राति सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमबाट भित्रिएको प्रणाली कमजोर बन्दै जाने भएकाले प्रदेश १ र २ मा भने अरू प्रदेशको तुलनामा वर्षा कम हुने महाशाखाले जनाएको छ । हिउँदे वर्षाका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात र दैनिक जनजीवनमा बढी असर पर्नेछ ।

अबका आउँदाे चार दिन सचेत रहन र सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस