बागमती प्रदेशमा दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउने निर्णय

नौलो समाचार संवाददाता
२०७८ पौष २२, बिहिबार मा प्रकाशित १७८१ पटक पढिएको
बागमती प्रदेशमा दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउने निर्णय

पुस २२, हेटौंडा। बागमती प्रदेश दुग्ध विकास बोर्डले दूधमा प्रतिलिटर १० रुपैयाँ मूल्य वृद्धि गर्ने निर्णय गरेको छ । बागमती प्रदेशका कृषि तथा पशुपंक्षी बिकास मन्त्री बसुन्धरा हुमागाईको अध्यक्षतामा बुधबार बसेको बोर्ड बैठकले किसानको हितलाई विशेष ध्यान दिँदै दूधको मूल्य बढाउने निर्णय गरेको हो ।

गाईभैंसीलाई खुवाउने चोकर, ढुटो, पिना र परालमा मूल्य वृद्धि हुँदा पनि दूधमा मूल्य समायोजन हुन नसकेपछि मूल्यवृद्धि गर्न लागिएको बोर्डले दाबी गरेको छ । दूधमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउन संघीय सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई अनुरोध गरेको छ ।

बोर्डको बैठकले गरेको निर्णय कार्यन्वयनका लागि संघीय सरकारलाई अनुरोध गर्ने निर्णय समेत गरिएको मन्त्री हुमागाईले बताउनुभयो। मूल्य वृद्धि गर्न संघीय सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई अनुरोध गर्ने समेत निर्णय गरेको छ । बैठकले १५ दिनभित्र दूधको मूल्य बढाउन मन्त्रालयलाई अनुरोध गरेको बोर्डका उपाध्यक्ष टीकाबल्लभ सापकोटाले जानकारी दिनुभयो।

बागमतीका दुग्ध उत्पादक किसानहरूले हाल गाईको दूधमा ४० देखि ४५ रुपैयाँ मात्रै मूल्य पाइरहेको सापकोटाले बताउनुभयो। भैंसीको दूधमा ५५ देखि ६० रुपैयाँ पाउँदै आएकोमा अब प्रतिलिटर १० रुपैयाँ बढाउने तयारी गरिएको बोर्डका उपाध्यक्ष सापकोटाले जानकारी दिनुभयो।

प्रदेश सरकारले दूधमा प्रतिलिटर दुई रुपैयाँ अनुदान पनि वितरण गर्दै आइरहेको छ । तर, अनुदान सबै किसानसम्म पुग्न नसकेको बोर्डका सदस्यसचिवसमेत रहेका कृषि तथा पशुपन्छी निर्देशनालयका निमित्त निर्देशक रामप्रकाश प्रधानले बताउनुभयो। अनुदान पनि पाउन नसकेका किसानका लागि राहत पुग्ने गरी दूधको मूल्य वृद्धि गर्नुपर्ने अवस्था आएको प्रधानको भनाइ थियो ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार बागमतीमा दुग्ध उत्पादक किसान करिब २० हजार छन् । जसमध्ये धेरै चितवन, काभ्रे, मकवानपुर, सिन्धुली, धादिङ र नुवाकोटमा छन् ।

प्रतिक्रिया दिनुहोस