कोरोनाभाइरसको महामारीबीच निगमले बढायो इन्धनको मूल्य

नौलो समाचार संवाददाता
२०७८ माघ ५, बुधबार मा प्रकाशित ९४१ पटक पढिएको
कोरोनाभाइरसको महामारीबीच निगमले बढायो इन्धनको मूल्य

माघ ५, काठमाडौं। कोरोनाभाइरसको महामारीबीच आयल निगमले तेलको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको हो।

नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १३९ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १२२ रुपैयाँ कायम गरिएको छ । त्यस्तै आन्तरिक हवाई इन्धनमा ५ रुपैयाँले वृद्धि गरी १०६ रुपैयाँ प्रतिलिटर बनाइएको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर १ सय अमेरिकी डलरले वृद्धि गरी ९९५ अमेरिकी कायम गर्ने निर्णय गरिएको छ ।

एलपी ग्यासको मूल्यलाई भने यथावत राखिएको छ । समायोजन पश्चात पनि भारतभन्दा नेपालमा नै मूल्य सस्तो भएको निगमको भनाइ छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको हुँदा निगमलाई पेट्रोलमा प्रति लिटर १३.१८ रुपैयाँ, डिजेलमा ८.८१ र ग्याँसमा ६४६.१६ रुपैयाँ घाटा रहेको जनाएको छ । १५ दिनमा नै निगमले २ अर्ब २४ करोड घाटा हुने स्थिति देखिएको यसअघि नै बताएको निगमको भनाइ छ ।

६ महिनामा १२ पटक नयाँ मूल्य प्राप्त गर्दा पनि आफूहरुले ३ पटक मात्र मूल्य समायोजन गरेको निगमको दाबी छ । आगामी जनवरी २३ मा तेल खरिद बाबपत भुक्तनी गर्न निगमलाई झण्डै २ अर्ब रुपैयाँ नपुग हुने स्थिति देखिएको निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस