अब काभ्रेबाटै ई–पासपोर्ट लिन सकिने

नौलो समाचार संवाददाता
२०७८ माघ १६, आईतबार मा प्रकाशित १०३३ पटक पढिएको

अब काभ्रेबाटै ई–पासपोर्ट लिन सकिने

माघ १६, काभ्रे। काभ्रेमा आजबाट ई–पासपोर्ट (विद्युतीय राहदानी) सेवाको सुरुवात भएको छ। यो संगै ई–पासपोर्ट बनाउन काठमाडौंसम्म जानुपर्ने झन्झटको अन्त्य हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले ई–पासपोर्ट सेवाको शुभारम्भ गर्नुभएको हो।

कार्यालयबाट एमआरपी (मेसिन रिडएबल पासपोर्ट)बाट सेवा हुदैँ आएकोमा अब ई–पासपोर्ट (विद्युतीय राहदानी) बाट सेवा प्रवाह हुने जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक सिडिओ अमर दीप सुनुवारले जानकारी दिनुभयो।

बाँकी प्रक्रिया सबै पुरानै भए पनि विद्युतीय राहदानी लिनका लागि सकारले जारी गरेको राष्ट्रिय परिचयपत्रको नम्बर अनिवार्य चाहिने सहायक सिडिओ सुनुवारले बताउनुभयो। सम्बन्धित व्यक्तिबाहेक अरूले कुनै पनि तरिकाले पासपोर्ट लिन नसक्ने र नक्कली काम नहुने र एमआरपीको तुलनामा ई–पासपोर्ट बढी विश्वसनीय र सुरक्षित भएको उहाँको भनाई छ।

सरकारले काठमाडौंस्थित राहदानी विभागबाट मंसिर १ गतेदेखि ई–पासपोर्ट वितरण सुरु गरेको थियो ।

 


प्रतिक्रिया दिनुहोस