फेरि बढ्यो इन्धनको मूल्य

नौलो समाचार संवाददाता
२०७८ माघ १८, मंगलबार मा प्रकाशित ८१३ पटक पढिएको
फेरि बढ्यो इन्धनको मूल्य

माघ १८, काठमाडौं। नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । आज १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल डिजल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँले बढाएको हो ।

नयाँ मूल्यसूची अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १२५ पुगेको छ । यस्तै आन्तरिक हवाई ईन्धनमा प्रति लिटर १० रुपैयाँले वृद्धि गरी प्रति लिटर ११६ पुगेको छ । एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।

भारतीय आयल कर्पोरेशनले आज नै नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको थियो । प्रत्येक महिनाको १ र १५ तारिखमा पठाउने कर्पोरेशनले आज नयाँ मूल्यसूची पठाएको हो । निगमलाई प्राप्त मूल्य सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४.९२ रुपैयाँ बढेर आएको छ ।

यस्तै, डिजेलको मूल्य प्रतिलिटर ७.२४ रुपैयाँ तथा मट्टितेलमा ८.८० रुपैयाँ बढेर आएको निगमले जानकारी दिएको छ ।​ यस्तै, हवाई इन्धनको मूल्य प्रतिलिटर ७.४८ रुपैयाँ र खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ८२ रुपैयाँ घटेर आएको निगमले जनाएको छ । कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार अन्य सबै पेट्रोलियम पदार्थको मूल्य बढ्दा एलपी ग्याँसको मूल्य भने घटेर आएको हो ।​

प्रतिक्रिया दिनुहोस