नर्वेली राजदूत नमोबुद्धमा, ‘महिलामैत्री असल कृषि अभ्यास’को प्रशंसा

नौलो समाचार संवाददाता
२०७८ माघ १९, बुधबार मा प्रकाशित ५७४ पटक पढिएको
नर्वेली राजदूत नमोबुद्धमा, ‘महिलामैत्री असल कृषि अभ्यास’को प्रशंसा

माघ १९, काभ्रे। नेपालका लागि नर्वेली राजदूत टोरन ड्रमडालले नमोबुद्ध नगरपालिकामा सञ्चालित जलवायु अनुकुलन समाधान कार्यक्रमअन्तर्गत महिलामैत्री कार्यक्रमको प्रशंसा गर्नुभएको छ।

नर्वेली राजदूतावासले इसिमोडमार्फत नमोबुद्ध नगरपालिकाका ६ वटा वडामा जलवायु अनुकुलन समाधान (RMS) कार्यक्रम सञ्चालन गरिरहेको छ। सिप्रेडमार्फत कार्यान्वयन भइरहेको यो कार्यक्रमको आज (बुधबार) स्थलगत अवलोकन गर्दै राजदूत ड्रमडालले कार्यक्रम सफल देखिएको भन्दै कार्यक्रमममा महिलाहरुको सहभागिता प्रशंसनीय भएको बताउनुभयो। कार्यक्रम कार्यान्वयनको क्रममा महिलाले पुरुषलाई पनि सँगसँगै लिएर गएकाले कार्यक्रमको प्रभावकारिता अझै बढेको उहाँले बताउनुभयो।

यस्तै अनुगमनको क्रममा इसिमोडका महानिर्देशक पेमा ग्याम्त्सोले जलवायुमैत्री कार्यक्रमअन्तर्गत थोरै पैसामा जसले पनि गर्न सकिने कामहरु राम्रोसँग भएको भन्दै खुशी व्यक्त गर्नुभयो। नमोबुद्ध नगरपालिकासँगै अन्य नगरपालिकाले पनि यस्तो कार्य गर्न सके किसानहरुले राम्रोसँग लाभ लिनसक्ने उहाँले बताउनुभयो।

नर्वेली राजदूत तथा इसिमोडका महानिर्देशकसहितको टोलीले नमोबुद्ध नगरपालिका २ मा सञ्चालन गरिएको मुल सुधार कार्यक्रम तथा सोही वडाको कुइँकेलथुम्कामा जलवायु अनुकुलन पविधि प्रयोग गरी गरिएको तरकारी खेती कार्यक्रमको अनुगमन गरेको थियो । जलवायु अनुकुलुन तरकारी खेती कार्यक्रमअन्तर्गत कुइँकेलथुम्कामा ताजा तरकारी उत्पादन भइरहेको छ । यसले स्थानीयबासीको आर्थिक अवस्थामा पनि सुधार भएको छ । उक्त कार्यक्रमअन्तर्गत थोपा सिञ्चाई, छापो प्रविधि, पोखरी निर्माण, जैविक बिषादी र मोहनी पासोमार्फत किरा नियन्त्रण लगायतका काम भइरहेको छ ।

अनुगमन टोलीमा रहेका नर्वेली दूतावासका उर्जा र जलवायुसम्वन्धी काउन्सिलर जान एरिक स्टुडरडले आफूले कुइँकेल थुम्कामा उत्पादन गरिएको तरकारी खाइरहेको र त्यो स्वस्थकर र मिठो रहेको प्रतिक्रिया दिनुभयो।

यस्तै नमोबुद्ध नगरपालिका प्रमुख टी.पी शर्मा तिमल्सिनाले नमोबुद्धमा यो कार्यक्रम सफलरुपमा सञ्चालन भइरहेको भन्दै आगामी दिनमा पनि यसले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो।

सिप्रेडका परियोजना संयोजक किरण भुषालका अनुसार नमोबुद्धका ६ वटा वडामा सञ्चालन भइरहेको जलवायु अनुकुलन समाधान (RMS) कार्यक्रममा झण्डै पाँच सय महिला सहभागिता छन् । यो कार्यक्रमले कृषिमा निर्भर महिलाको कार्यबोझ कम गर्नुका साथै जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा देखिएको समस्या समाधान गर्दै असल कृषि अभ्यासमार्फत कृषि उत्पादन वृद्धिमा सहयोग पु¥याएको छ । खानेपानीका लागि टाढा जानुपर्ने, सिञ्चाईको अभावका कारण कृषिबाटै विस्थापित हुनुपर्ने समस्यालाई समाधान गर्नसमेत कार्यक्रमले प्रभावकारीरुपमा सघाएको छ ।

अनुगमन टोलीमा इसिमोडबाट इरिका उदास, माधव ढकाल, नर्वेली दूताबासबाट कमला बिष्ट, शरद कर्माचार्य, नमोबुद्ध २ का वडा अध्यक्ष सञ्जीव ढकाल, सिप्रेडका रामदेव साह लगायत पनि सहभागी थिए । अनुगमन टोलीले स्थानीय महिला समूहसँग कार्यक्रम र यसको प्रभावकारिताका विषयमा छलफल पनि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस