१५ वटा पाडी वितरण गर्दै पनौतीमा यो वर्ष पनि भैँसी संरक्षण अभियानको शुभारम्भ, पनौतीमा प्रतिदिन ४५ हजार लिटर बढी दुध उत्पादन

नौलो समाचार संवाददाता
२०७८ माघ २३, आईतबार मा प्रकाशित ९८५ पटक पढिएको
१५ वटा पाडी वितरण गर्दै पनौतीमा यो वर्ष पनि भैँसी संरक्षण अभियानको शुभारम्भ, पनौतीमा प्रतिदिन ४५ हजार लिटर बढी दुध उत्पादन

माघ २३, काभ्रे। विगत ३ वर्षदेखि निरन्तर भैँसी संरक्षण तथा संवर्द्धनका कार्यक्रम गर्दै आएको पनौती नगरपालिकाले यो वर्ष पनि पाडी वितरण अभियानको शुभारम्भ गरेको छ।

आज (आईतबार) नगरपालिका प्राङ्गणमा यो आर्थिक वर्षको पहिलो चरण अन्तरगत नगरपालिकाको वडा नं ४ का कृषकहरुलाई १५ वटा पाडी वितरण गरिएको हो।

पनौती नगरपालिकालाई दुग्ध जन्य उत्पादनमा अझै सबल बनाउने र विपन्न किसानको आर्थिक स्तर माथि उठाउने उद्देश्यले कार्यक्रमको सुरुवात भएको थियो। यो वर्ष १५० वटा पाडी वितरण गर्ने कार्यक्रम रहेको पनौती नगरपालिका कृषि तथा पशुपन्छी शाखा प्रमुख मणिप्रसाद  सापकोटाले बताउनुभयो। गत वर्ष ८०६ वटा पाडी वितरण गरिएको थियो।

कार्यक्रममा बोल्दै नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले कृषि र पशुपन्छीको क्षेत्रबाट नै पनौतीका नागरिकहरुको आर्थिक उन्नति हुने बताउदै पहिले पाडी वितरण गर्दा खिसीट्युरी गर्नेहरु नै अहिले प्रशंसा गर्न थालेको उल्लेख गर्नुभयो।

यस्तै, नगर प्रमुख भिम न्यौपानेले आफ्नै सम्पति सम्झेर मिहेनत गरेमा राम्रो उत्पादन र प्रतिफल पाउने सकिने बताउदै यसबाटै आर्थिक उन्नति हुदै जाने र प्रतिफलको लागी केहि समय धैर्य गर्न पनि उपस्थित कृषकलाई आग्रह गर्नुभयो।

पनौती क्षेत्रमा ३ वर्ष अगाडिसम्म प्रतिदिन २५ हजार लिटर उत्पादन हुने गरेकोमा हाल प्रतिदिन ४५ हजार लिटर दुध किसानले बेच्ने गरेको उहाँले बताउनुभयो। ‘किसानहरुले आफुलाई पर्याप्त मात्रामा खान छुट्याएर दुध बेच्दा पनि राम्रो उत्पादन देखिएको छ’ उहाँले भन्नुभयो।

भैंसीको दुधको उत्पादन बढेपछि पनौती केन्द्रित भएर ५ वटा ठुला प्रसोधन डेरीहरु खुलिसकेका छन्। यस्तै दुग्ध चिस्यान केन्द्र ३० वटा पुगिसकेको उहाँले बताउनुभयो।

आर्थिक २०७६/७७ देखि यो आर्थिक वर्षसम्ममा पनौती नगरपालिकाका १२ वटै वडामा गरी वितरण गरिएका थोरे पादिको संख्या ९५६ वटा पुग्नेछ। थोरे पाडीलाई किसानको ७ हजार ५०० लगानी पर्छ भने अन्य सबै नगरपालिकाले बेहोरेको छ।

यो वर्ष १५० वटा पाडीसंगै लैना गाईं ५९ वटा, बाख्रा १५० वटा, बोयर बोका १० वटा, मासुको लागी पाडा ११० वटा र प्रजननको लागी उन्नत जातको मुर्रा रागो ६ वटा वितरण गर्ने आफुहरुको कार्ययोजना रहेको उहाँले बताउनुभयो।

भैँसी संरक्षण तथा संवर्द्धन कार्यक्रम अगाडी पनौतीमा भैंसीको संख्या ४ हजार ७४७ वटा थियो भने अहिले ८ हजार २६८ वटा पुगेको छ।

२०७५/७६ बाट थालनी गरिएको भैंसी सुत्केरी भत्ता वितरण कार्यक्रम अहिलेसम्म पनि जारी रहेको छ।

उहाँले नमोबुद्ध नगरपालिका, पाँचखाल, मण्डनदेउपुर, बनेपाले पनि पनौती नगरपालिकाको पाडी वितरण कार्यक्रमको अनुसरण गर्दै यस्ता कार्यक्रमको सुरुवात गरेको बताउनुभयो।

कार्यक्रमको सभपतित्व उप-प्रमुख श्री गीता बञ्जाराले गर्नुभएको थियो भने विशिष्ट अतिथिमा जिल्ला समन्वय समिति काभ्रेका उप-प्रमुख मञ्जू गौतमको उपस्थिति रहेको थियो। त्यसै गरि कार्यक्रममा नगरपलिकाका नगर प्रमुख भिम न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल, वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारी, कृषि तथा पशुपंक्षी शाखा प्रमुख मणि प्रसाद सापकोटा, कर्मचारी, कृषकहरु तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस