कम्युनिष्टहरु एमसीसीबारेमा ढुलमुले भए : कांग्रेस पूर्व मन्त्री राणा

बनेपाको विकासमा कम्युनिष्ट बाधक : कञ्चनचन्द्र
नौलो समाचार संवाददाता
२०७८ फागुन १४, शनिबार मा प्रकाशित ७०१ पटक पढिएको
कम्युनिष्टहरु एमसीसीबारेमा ढुलमुले भए : कांग्रेस पूर्व मन्त्री राणा

फागुन १४, काभ्रे। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री उदय शम्शेर राणाले कम्युनिष्टहरु एमसीसीबारेमा ढुलमुले भएको बताउनुभएको छ । नेपाली कांग्रेस बनेपा नगर अन्तर्गत बनेपा नगरपालिका वडा नं. १० उग्रतारा जनागालमा टोल कार्यसमिति गठन कार्यक्रममा बोल्दै उहाँले एमसिसिको बारेमा बोल्नुहुँदै कम्युनिष्टहरु एमसीसीबारेमा ढुलमुले भएको बताउनुभयो ।

राणाले भन्नुभयो ‘आज एउटा कुरा गर्ने, भोलि एउटा कुरा गर्ने, आज एउटा पत्र विदेशमा लेख्ने भोलि त्यो लुकाउन खोज्ने चरित्रको भइसकेपछि समस्या भएको हो ।’ सरकारमा हुँदा एउटा कुरा गर्ने, सरकार बाहिर हुँदा अर्को कुरा भएका कारण नेपाली जनता अत्यन्तै अलमलको परिस्थितिमा रहेको उहाँको भनाइ छ । एमालेले नै एमसिसि सांसदमा लगेर पास गर्नुपर्छ भन्ने प्रस्ताव गरे तर विपक्षमा भएपछि स्पष्ट नबोलेको उहाँले प्रस्ट पार्नुभयो ।

सो क्रममा उहाँले कांग्रेस नेतृत्वले आफूले बोलेको कुरा अडिग हुनुपर्नेमा जोड दिनुभयो । अरु पार्टीहरुको कोही सडकमा, कोही सदनमा दोहोरो कुरा गरिरहेको भएपनि नेपाली कांग्रेसले यस्ता जटिल विषयमा एक ढिक्का भएको उहाँको भनाई छ । नेपाली कांग्रेसले भोटको लागि नेपाली जनतालाई अलमल्याउन नुहुँने भन्दै भोट कम होला भन्ने कुरामा आफुमा विश्वास नभएको बताउनुभयो । ‘जुन पार्टीले स्पष्ट बोल्छ अन्तमा जनताले त्यो पार्टीलाई बिर्सिर्दैन ।’ राणाले थप्नुभयो, ‘नेपाली कांग्रेसबाट मतको लागि आफ्नो रंग, चरित्र, सोचाइ फेर्दैन ।’

 कम्युनिष्टहरुका कारण बनेपाको विकासमा निर्माण पछि

कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री कञ्चनचन्द्र बादे श्रेष्ठले कम्युनिष्टहरुका ज्यादतीका कारण बनेपा नगर विकास निर्माणमा पछि परेको आरोप लगाउनुभयो । उहाँले बनेपा नगरमा खानेपानी, फोहोरमैला, साँस्कृतिक सम्पदा संरक्षण लगायतका जनताका आधारभूत आवश्यकताहरुमा ध्यान नदिएको समेत आरोप लगाउनुभयो । उहाँले नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई जनताको मालिक नभई सेवक भएर काम गर्न आग्रह गर्नुभएको छ ।

कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेशका सह–महामन्त्री ऋषिराम घिमिरे, नेपाली कांग्रेस काभ्रे प्रदेश सभा क्षेत्र नं. २ ख का सभापति रामहरि श्रेष्ठ, काभ्रे प्रदेश सभा क्षेत्र नं. २ ख का कोषाध्यक्ष गौतम मानन्धर, जिल्ला सदस्य रविना विष्ट, बनेपा नगरका नगर सभापति महेश कर्माचार्य, बनेपा नगर सहसचिव रुपचन्द्र थापा, नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नं. २ का सदस्य शान्ती रत्न शाक्य, जनप्रतिनिधि वडा सदस्य हरि श्रेष्ठ लगायत नेपाली कांग्रेसका कार्यकर्ताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

नेपाली कांग्रेस वडा नं. १० अन्तर्गत साविक वडा नं. १ टोल समिति गठन कार्यक्रम इकाई सभापति राजु श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको हो । नव गठित समितिमा सभापति पुष्पराज थापा, उपसभापति शान्ता खत्री, सचिव दिपेन्द्र श्रेष्ठ, कोषाध्यक्ष लक्ष्मी खड्का, सहसचिव दिलुमाया श्रेष्ठ, सह कोषाध्यक्ष विशाल श्रेष्ठ, सदस्यहरुमा गुप्त बहादुर खत्री, शंखलाल मानन्धर, सुरेश खड्का, विजय खड्का, रोजिना श्रेष्ठ, श्यामकाजी थापा, शान्ति कार्कीको समिति गठन गरिएको छ । कार्यक्रममा वडा नं. १० इकाई उपसभापति नकुल केसीले धन्यवाद व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस