जब, पनौतीका कृषि शाखा प्रमुख सडकमै गाई दुहुन थाले…

नौलो समाचार संवाददाता
२०७८ फागुन २२, आईतबार मा प्रकाशित १२७३ पटक पढिएको
जब, पनौतीका कृषि शाखा प्रमुख सडकमै गाई दुहुन थाले…

फागुन २२, काभ्रे। आफुलाई हाकिम ठान्ने अनि सुट बुटमा ठाटिएर अरुलाई आदेश मात्र दिनेहरुकालागि पनौती नगरपालिकाका कृषि तथा पशुपंक्षी शाखा प्रमुख मणिप्रसाद सापकोटा एक उदाहरण हुन्।

आज नगरपालिकाको वडा नं ३, कुशादेबीका कृषकहरुलाई लैना गाई वितरण कार्यक्रममा एक किसानलाई वितरण गरिएको लैनो गाई दुध चर्केर केहि छटपटाए जस्तो देखिन्थ्यो। निकै ठुलो थुन भएको गाईको दुध बिहानैदेखि दुहुन बाकि थियो। हेर्दा यसै पनि अनुमान लगाउन सकिन्थ्यो कि दुध चर्केको छ।

केहि किसान तथा स्वयं कृषि शाखा प्रमुख सापकोटाले गाईको अवस्था देखेपछी दुध नदुहुदा गाईमा थुनेलोको समस्या आउन सक्ने सम्भावना  र गाईलाई पनि हल्का हुने भएपछि तत्काल बाटोमै दुध दुहुने कुरा आयो । सडक छेउ घर भएका एक स्थानीयसंग एउटा बाल्टिन मागेर गाई प्राप्त गरेका किसान त्यो सडकमै त्यो भीडकाबीच दुध दुहुने तयारी गर्न थाले।

एक प्रकार अनौठो र रोचक माहौल बनेपछि तत्काल कृषि शाखा प्रमुख सापकोटाले कोट फुकाल्दै आफु पनि कृषकको छोरो हु भन्दै गाई वितरण गरिएको स्थल वडा नम्बर ३ को कार्यालय अगाडिको सडक छेउमै दुध दुहुन सुरु गरे। त्यसपछि गाई परप्त गर्ने किसानले गाई दुहेका थिए।

उहाले हिजै मात्र वितरण गरिने १० वटै गाईको दुध कतिसम्म औछा भनेर सबै गाईको दुध निकालेको बताउनु भयो। जसका कारण आफ्नो हाल आज सम्म पनि दुखिरहेको उहाले सुनाउनु भयो। कृषि र किसानको लागि काम गर्ने भएपछी यी सबै कुरामा ज्ञान र दख्खल भएकै राम्रो हो, उहाले भन्नुभयो।

पनौती नगरपालिका कृषि तथा पशुपंक्षी शाखाको बार्षिक कार्यक्रम अन्तर्गत लागत साझेदारीमा लैना गाई वितरण गरिएको हो।

यस आर्थिक वर्ष अन्तर्गत पहिलो चरणमा नगरपालिकाको वडा नं ३, कुशादेबीका कृषकहरुलाई १० वटा लैना गाई वितरण गरिएको छ।

गाई पकेट क्षेत्रको रुपमा रहेका नगरका वडा नम्बर १०, ३, र ८ नम्बर वडा रहेको कृषि तथा पशुपंक्षी शाखाका प्रमुख मणिप्रसाद सापकोटाले बताउनुभयो। वडा नम्बर ३ कुशादेबी क्षेत्रमा २४ वटा लैना गाई वितरण गरिने उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस