रोशी गाउँपालिकामा वित्त आयोगको कार्यसम्पादन मुल्यांकनमा पहिलो

नौलो समाचार संवाददाता
२०७८ फागुन २४, मंगलबार मा प्रकाशित ६२३ पटक पढिएको

रोशी गाउँपालिकामा वित्त आयोगको कार्यसम्पादन मुल्यांकनमा पहिलो

फागुन २४, काभ्रे। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको स्थानीय सरकारको कार्यसम्पादन मुल्यांकनमा काभ्रेका गाउँपालीकाहरु मध्ये रोशी गाउँपालिका पहिलो स्थानमा पर्न सफल भएको छ।

आयोगले गत आर्थिक बर्ष २०७७/७८ को स्थानीय सरकारको कार्यसम्पादन मुल्यांकनको नतिजा सार्वजनिक गरेको छ । जसमध्ये रोशी गाउँपालिका जिल्लाका ७ वटा गाउँपालिकामध्ये पहिलो स्थानमा परेको हो।

समग्र स्थानीय तह र गाउँपालिकातर्फ रोशी गाउँपालिका जिल्लामा पहिलो स्थानमा पर्न सफल भएको छ ।

वित्त आयोगले विभिन्न १७ वटा सूचकको वित्तीय क्षेत्रर्फका सुचकको आधारमा स्थानीय तहको कार्यसम्पादन मुल्यांकन गर्ने गर्दछ । नगरपालिकातर्फ पहिलो स्थानमा पर्न सफल भएको नमोबुद्ध नगरपालिकाले ६६.३९ अंक प्राप्त गरेको छ । जिल्लामा समग्र स्थानीय तहमध्ये पनि पहिलो स्थानमा परेको रोशीगाउँपालिकाले ६८.३६ अंक प्राप्त गरेको छ।

समग्र स्थानीय तहमा दोस्रो स्थानमा रहेको महाभारत गाउँपालिकाले ६६.६८ अंक प्राप्त गरेको छ । नमोबुद्ध नगरपालिका जिल्लाका १३ स्थानीय तहमध्ये समग्रमा तेस्रो तथा मुलुकका ७५३ स्थानीय तहमध्ये १३ औं स्थानमा परेको छ ।

आयोगले तोकिएको समयमा बजेट ल्याए/नल्याएको, बार्षिक समीक्षा गरे या नगरेको, स्थानीय तहको बेरुजुको अवस्था, आवधिक योजना तर्जुमा भए/नभएको, कक्षा १ देखि ८ सम्म खुद विद्यार्थी भर्नादरको अवस्था, बालबालिकालाई लगाइएको पूर्ण खोपको अवस्था लगायतका १७ वटा सूचकमार्फत स्थानीय तहको कार्यसम्पादन मुल्यांकन गरेको थियो ।

काभ्रेका अन्य स्थानीय तहमा नगरपालिकातर्फ दोस्रो स्थान र समग्रमा चौंथोमा परेको धुलिखेल नगरपालिकाले ६३.२९, पाँचौं स्थानमा परेको पाँचखाल नगरपालिकाले ६३.१९ अक प्राप्त गरेका छन् । जिल्लामा सबैभन्दा कम अंक प्राप्त गर्नेमा चौरीदेउराली गाउँपालिका रहेको छ । चौरीदेउराली गाउँपालिकाले जम्मा ३७.९० अंकमात्रै प्राप्त गरेको छ ।

जिल्लाका अन्य स्थानीय तहमा नगरपालिकातर्फ बनेपाले ५६.२२, पनौतीले ५५.९२ र मण्डनदेउपुरले ५३ अंक प्राप्त गरेका छन् । यस्तै गाउँपालिकातर्फ बेथानचोकले ५९.२५, खानीखोलाले ५४.९५, तेमालले ५०.५८ र भुम्लु गाउँपालिकाले ५०.२० अंक प्राप्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस