पनौती नगरपालिकाद्वारा मासुका लागी पाडा वितरण सुरु

१ सय १० वटा पाडा वितरण गर्ने लक्ष्य
नौलो समाचार संवाददाता
२०७८ फागुन ३०, सोमबार मा प्रकाशित १२५२ पटक पढिएको

पनौती नगरपालिकाद्वारा मासुका लागी पाडा वितरण सुरु

फागुन ३०, काभ्रे। पनौती नगरपालिकाले पाडा वितरण सुरु गरेको छ। आज पनौती नगरपालिका वडा नम्बर १ रयालेका १७ जना किसानलाई लागत साझेदारीमा पाडा वितरण गर्दै कार्यक्रमको शुभारम्भ गरिएको हो।

सशर्त तर्फ मासु मिसन अन्तरगत पाडा प्रबर्द्धन तथा पाडा वितरण कार्यक्रमको शुभारम्भ गर्दै पनौती नगरपालिकाका उप–प्रमुख गिता बञ्जाराले किसानको जीवनस्तर उकास्न यो कार्यक्रम थप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभएको छ।

यस वर्ष नगरपालिका क्षेत्रभित्र १ सय १० वटा पाडा वितरण गर्ने कार्यक्रम रहेको नगरपालिकाका कृषि तथा पशुपन्छी शाखाका प्रमुख मणिप्रसाद सापकोटाले जानकारी दिनुभयो। किसानको जीवनस्तर उकास्न तथा मासु उत्पादनमा वृद्धि गर्न पाडा वितरण गरिएको प्रमुख सापकोटाले बताउनुभयो।

कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष गुणनाथ सापकोटाले आर्थिक उन्नतीका लागि कृषि क्षेत्रको विकास जरुरी रहेको बताउदै साझेदारीमा वितरण गरिएको पाडालाई पूर्ण रुपमा आफ्नो सम्झेर पालन गरेमा मात्र यसले आर्थिक उन्नतिको प्रतिफल दिने बताउनुभयो।

लागत साझेदारीमा जम्मा लागतको किसानले ४० प्रतिशत किसानले व्यहोर्नु पर्नेछ भने अन्य ६० प्रतिशत नगरपालिकाले व्यहोर्नेछ। एउटा पाडालाई किसानले ९ हजार ६ सय रुपैयाँ तिर्नुपर्नेछ। भने अन्य खर्च सहित १ वर्षको बिमा, औषधि र अन्य आपतकालीन उपचार नगरपालिकाले बहन गर्ने प्रमुख सापकोटाले बताउनुभयो।

पाडा २ सय केजीको भएपछि वडा कार्यालयको समन्वयमा पाडा विक्रिवितरण गर्न पाइने कृषि तथा पशुपन्छी शाखा पनौतीका पशु सेवा प्राविधिक अधिकृत लिलानाथ सापकोटाले बताउनुभयो।

कार्यक्रममा बोल्दै जनमैत्री बचत तथा ऋण सहकारी सस्था लिमिटेडका व्यवस्थापक बेदप्रसाद सापकोटाले नगरपालिकासँग समन्वय गरेर कृषि क्षेत्रमा काम गर्न पाएकोमा खुसी लागेको बताउनुभयो।

कार्यक्रम संचालन कृषि तथा पशुपन्छी शाखा पनौतीका पशु सेवा प्राविधिक अधिकृत लिलानाथ सापकोटाले गर्नुभएको थियो।

 


प्रतिक्रिया दिनुहोस