चीनमा एकैदिन ५ हजार २८० जनामा कोरोना पुष्टि, ११ सहरमा लकडाउन

नौलो समाचार संवाददाता
२०७८ चैत्र १, मंगलबार मा प्रकाशित ५२४ पटक पढिएको
चीनमा एकैदिन ५ हजार २८० जनामा कोरोना पुष्टि, ११ सहरमा लकडाउन

चैत १, बेइजिङ। चीनमा थप ५ हजार २८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आज मंगलबार त्यहाँ ५ हजार २८० जनामा संक्रमण पुष्टि भएको समाचार संस्था एएफपीले जनाएको छ।

सबैभन्दा धेरै संक्रमित जिलिन प्रान्तमा देखिएको छ। जिलिनमा मात्रै ३ हजार बढी संक्रमित थपिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।

चीनमा कोरोना संक्रमण बढ्न थालेपछि कम्तीमा पनि ११ सहर र काउन्टीमा लकडाउन गरिएको छ।

१ करोड ७० लाख जनसंख्या भएको प्रविधिको हब मानिएको सहर शेनझेनमा पनि लकडाउन गरिएको छ।

झन्डै ३ करोड चिनियाँहरू अहिले लकडाउनमा बस्न बाध्य भएका छन्। चिनियाँ अधिकारीहरूले कडा लकडाउन लागू गरेका छन्।

‘जिरो कोभिड’को रणनीति अपनाएर उनीहरूले लकडाउन गरिरहेका हुन्।

६ दिनयता चीनमा दैनिक १ हजार बढी संक्रमित थपिरहेको एएफपीले जनाएको छ।

चीनमा अहिलेसम्म १ लाख २० हजार ५०४ जनामा कोरोना संक्रमण पुष्टि र ४ हजार ६३६ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस