कृषिको उर्बर भुमि पनौती-१० बाट सुरु भयो कृषि उपकरण वितरण

नौलो समाचार संवाददाता
२०७८ चैत्र २, बुधबार मा प्रकाशित १२४६ पटक पढिएको
कृषिको उर्बर भुमि पनौती-१० बाट सुरु भयो कृषि उपकरण वितरण

चैत २, काभ्रे। पनौती नगरपालिकाले कृषकसंगको लागत साझेदारीमा कृषि सामग्री तथा यन्त्र उपकरण वितरण सुरु गरेको छ।

कृषिको उर्बर भूमिको रुपमा परिचित पनौती वडा नम्बर-१० का कृषकहरुलाई कृषि उपकरण वितरण गरीएसंगै यस वर्षको कृषि उपकरण  वितरण कार्यक्रम सुरु भएको हो। आज वडा नम्बर-१० को पस्थली र खोपासीबाट कृषकहरुलाई स्प्रेयर पम्प (किट नाशक औषधि छर्ने यन्त्र) वितरण गरिएको छ।

पहिलो चरणमा पनौती नगरपालिकाको वडा नं १० का कृषकहरुलाई ११३ वटा इलेक्ट्रीक स्पेयर पम्प वितरण भएको छ।

यस वर्ष नगरका सम्पूर्ण वडाहरुको लागी जम्मा १ हजार ८० ओटा स्प्रेयर पम्प वितरण गरिने नगरपालिकाका कृषि तथा पशुपन्छी शाखाका प्रमुख मणिप्रसाद सापकोटाले जानकारी दिनुभयो। जम्मा लागत मुल्यको ४० प्रतिशत किसानले बेहोर्ने र अन्य ६० प्रतिशत नगरपालिकाले बेहोर्नेछ। ब्याट्रीबाट अटोमेटिक स्प्रे र आफैले पम्प दिएर पनि स्प्रे गर्न सकिने यो पम्पलाई किसानले १ हजार ८ सय तिर्नुपर्ने र बाँकी नगरपालिकाले बेहोर्ने प्रमुख सापकोटाले बताउनुभयो।

वितरण कार्यक्रममा पनौती नगरपालिकाका मेयर भिम न्यौपानेले पनौतीका कृषक तथा बिपन्न नागरिककको आर्थिक उन्नति कृषिबाटै सम्भव भएकोले नगरपालिकाले कृषि र कृषकसंग सम्बन्धित अनेकन कार्यक्रम निरन्तर ल्याएको र सधै ल्याईरहने बताउनुभयो। हामीले गरेका कृषि क्रान्तिका कार्यक्रमहरुको सफलता देखेका जिल्लाकै अन्य पालिकाहरुले समेत पनौतीको अनुसरण गर्दै हिडेको र देशका अन्य पालिकाले समेत पनौतीकै कार्ययोजनालाई हुबहु रुपमा आफ्नो पालिकाहरुमा कार्यान्वयन गरिरहेको नगर प्रमुख न्यौपानेले बताउनुभयो।

यस्तै, नगरपालिकाका उप-प्रमुख गीता बन्जाराले वितरण गरिएका कृषि उपकरणको प्रयोग गरी तरकारी तथा अन्यबालीबाट मनग्य उत्पादन बढाउँन मद्धत मिल्ने बताउनुभयो। आफ्नो तरकारी, कृषि बाली तथा पशुपन्छी पालनाका क्रममा कुनै पनि समस्या आएमा नगरपालिकाको कृषि शाखामा सम्पर्क गरी कृषि प्राविधिकहरुको सल्लाह तथा सहयोग लिन पछी पर्न नहुने बताउनुभयो।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले कृषि क्षेत्रको विकासमा काभ्रे जिल्लाभरकै अब्बल नगरको रुपमा पनौती स्थापित भएको बताउनुभयो। लागत साझेदारीमा कृषि सामग्रीहरु प्राप्त गर्दा नगरवासी कृषकहरु खुसि भएको र यस्ता कार्यक्रमहरु कहिले नरोकिने बरु अझ बिस्तार र फैलाउदै लैजानेमा नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

यस्तै, वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले नगरपालिकाले कृषि र कृषकलाई आवश्यकता पर्ने हरेक बिउबिजन, कृषि यन्त्र तथा उपकरण, गाई-भैंसी, बाख्रा-बोका लगायत हरेक ठुला-साना चिजबिज लागत साझेदारीमा उपलब्ध गराउन सधै लागिपरेको र यसको सकारात्मक परिणाम पनि कृषक र आम पनौतीवासीले महसुस गरिरहेको उल्लेख गर्नुभयो।

पम्पमा कुनै पनि समस्या आएमा एक हप्ताभित्र कुनै पनि टुटफुट नगरी नगरपालिकाबाट अर्को स्प्रेयर पम्प साटेर लैजान सकिने बताउनुभयो।

यस्तै वडा नम्बर १० का वडा अध्यक्ष मोहनबहादुर भण्डारीले कृषिको उर्बर भूमि पस्थलीबाट यस वर्षको कृषि सामग्री तथा यन्त्र उपकरण वितरण सुरु भएकोमा खुशी ब्यक्त गर्दै पनौती नगरका मेयर र कृषि शाखा प्रमुखको सक्रियतामा कृषिका कार्यक्रमहरु सफल र अब्बल हुन सकेको बताउनुभयो।

यो वर्ष के कस्ता उपकरण वितरण हुदैछ ?

यो वर्ष मिनी टिलर ३० वटा, च्याप कटर(भुस्सा काट्ने मेसिन) ९० वटा, मिल्क एनालाईजर १० वटा, स्टिलको १० लिटरको दुध बोक्ने क्यान ५०३ वटा, प्लास्टिक टनेल ६२८ वटा, हाईटेक नर्सरी घर १ वटा, धान छुट्ने प्याडल थ्रेसर ३५ वटा, मकै छोडाउने मेसिन २५ वटा, मौरी घार १०० वटा, आगो निभाउने मेसिन (फार्मको लागी) २० वटा,  ग्रीन नेट (हरियो जाली) १० बन्डल, पानी तान्ने पम्प १५ वटा, फ्यान २० वटा, चिलिंङ भ्याट (५ सय लिटरको) ३ वटा, काउ म्याट ९० वटा, दुध दुहुने मेसिन २ वटा, लगायत ओखर तथा कागतीको बिरुवा माग अनुसार बाड्ने योजना रहेको कृषि तथा पशुपन्छी शाखाका प्रमुख मणिप्रसाद सापकोटाले जानकारी दिनुभयो।

कार्यक्रम संचालन कृषि तथा पशुपन्छी शाखा पनौतीका पशु सेवा प्राविधिक अधिकृत लिलानाथ सापकोटाले गर्नुभएको थियो।


प्रतिक्रिया दिनुहोस